चितवन । पूर्वीचितवनको उद्योग वाणिज्य संघ खैरहनीले स्थानीय प्रशासनलाई चुनौती दिँदै कार्यक्रम गर्ने भएको छ । चितवनमा कोरोना संक्रमण बढिरेहेकोले त्यसको नियन्त्रणको लागि चितवनका प्रमुख जिल्ला अधिकारीले कुनै किसिमको कार्यक्रम, सभा, सम्मेलन भौतिक उपस्थितिमा नगर्न आदेश जारी गरेका छन् ।
तर, उद्योग वाणिज्य संघ खैरहनीले भने प्रशासनको आदेश उलङ्घन गर्दै भौतिक उपस्थितिमा नै कार्यक्रम गर्ने तयारी गरेको छ । संघले मंगलबार संघको सभाहलमा नै व्यवसायीहरुको लागि एकदिने कर शिक्षा तालिमको साथै अन्तःशुल्क छुट सुविधा सम्बन्धि कार्यक्रम आयोजन गर्ने सूचना निकालेको छ । संघले व्यवसायीहरुलाई संघको सभाहलमा उपस्थित हुन आग्रह गरेको छ ।
खैरहनीमा कोरोनाको संक्रमण बढ्दो छ । निषेधाज्ञा खुकुलो भएसँगै लापरबाही बढ्दा कोरोना संक्रमण बढेको छ । खैरहनीमा हाल १४३ जना सक्रिय संक्रमित रहेका छन् । चितवनका सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी शर्माले भौतिक उपस्थितिमा कुनैपनि सभा, सम्मेलन तथा अन्य कार्यक्रम गर्न रोक लगाइएकोले त्यसको उलङ्घन गरे कारबाही गर्ने बताए ।








