काठमाडौँ । नेपाली कांग्रेसको १६ देखि १९ भदौसम्मका लागि तोकिएको १४औं महाधिवेशन सार्ने विषयमा शीर्ष नेताबीच सहमति जुटेको छ । बिहीबारबाट सुरु भएको कांग्रेस केन्द्रीय समिति बैठकले घोषित महाधिवेशनको मितिलाई सार्ने तयारी गरेको हो ।
मिति सार्न शीर्ष नेतृत्व सहमत भए पनि कहिले गर्नेगरी कुन मितिलाई सार्ने भन्ने विषयमा भने सहमति जुटेको छैन । स्रोतका अनुसार सभापति शेरबहादुर देउवाले मंसिरमा स्थानीय तहका अधिवेशन सुरु गर्नेगरी केन्द्रीय तहको महाधिवेशनलाई माघमा पु-याउने तयारी गरेका छन् । उनले आफूनिकट नेताहरूलाई सोबारे जानकारी गराएका छन् ।
‘नयाँ मितिबारे शीर्ष तहमा बुधबार छलफल भयो, त्यसपछि बिहीबारबाट केन्द्रीय समिति सुरु भएको छ, मंसिरमा प्रक्रिया सुरु गर्ने र माघमा महाधिवेशन गर्ने विषयमा सभापतिको जोडबल छ,’ प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवानिकट एक नेताले राजधानीसँग भने ।
तर, केन्द्रीय समितिको बिहीबारको बैठकमा भने महाविधवेशनको नयाँ मितिबारे भने कुनै छलफल नभएको ती नेताले जानकारी दिए । यो समाचार आजको राजधानी दैनिकमा छ ।








