काठमाडौँ । प्रतिनिधि सभा बैठक आज पनि बस्दैछ । संसद भवन बानेश्वरमा दिउँसो १ बजे बस्ने बैठकमा विभिन्न सम्भावित कार्यसूची तय भएका छन् । संसद सचिवालयका अनुसार आजको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले “विनियोजन अध्यादेश, २०७८ लाई स्वीकृत गरियोस्” भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।
साथै, अर्थमन्त्री शर्माले “आर्थिक अध्यादेश, २०७८ लाई स्वीकृत गर्ने प्रस्ताव र “राष्ट्र ऋण उठाउने अध्यादेश, २०७८ लाई स्वीकृत गर्ने प्रस्ताव पनि पेश गर्नेछन् । त्यस्तै, कानुन, न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले “बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) अध्यादेश, २०७७ लाई स्वीकृत गरियोस्” भनी प्रस्ताव प्रस्तुत गर्नेछन्।
सांसद प्रेम सुवालले भने “बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) अध्यादेश, २०७७ लाई अस्वीकार गरियोस्” भन्ने सूचना प्रस्तुत गर्ने कार्यसूची रहेको छ । साथै उनले “विनियोजन अध्यादेश, २०७८ लाई अस्वीकार गरियोस्”, “राष्ट्र ऋण उठाउने अध्यादेश, २०७८ लाई अस्वीकार गरियोस्” र “आर्थिक अध्यादेश, २०७८ लाई अस्वीकार गरियोस्” भन्ने सूचना प्रस्तुत गर्नेछन् ।
यस्अघि बिहीबार पनि प्रतिनिधिसभा बैठक बसेको थियो ।








