काठमाडौं। निर्वाचन आयोगले नेकपा एमालेले गत साता अद्यावधिक गरेर पठाएको केन्द्रीय कमिटीलाई तत्काल मान्यता नदिई यसअघिको २०३ सदस्यी कमिटीलाई नै मान्यता दिने भएको छ ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटीलाई अद्यावधिक गरी २ सय ६० सदस्यीय बनाएको जानकारीसहितको पत्र आयोगमा पठाएका थिए । तर आयोगले पछिल्लो अद्यावधिक विवरणलाई मान्यता नदिई २०७५ साल जेठ २ गते कायम एमालेको २०३ सदस्यीय कमिटीलाई मान्यता दिने भएको हो ।
एमालेबाट अलग भई नेकपा एकीकृत समाजवादी गठनका लागि आयोगमा निवेदन दर्ता गराएका माधवकुमार नेपालले पेस गरेको केन्द्रीय कमिटी र संघीय सांसदको सनाखतका क्रममा आयोगले एमालेको पुरानै केन्द्रीय कमिटीलाई मान्यता दिने भएको हो । सनाखतका लागि नेकपा एकीकृत समाजवादीका सांसद र केन्द्रीय सदस्यहरुलाई आयोगले आगामी बुधबार उपस्थित हुन भनेको छ ।
निर्वाचन आयोगले एमालेको पुरानै केन्द्रीय कमिटीलाई मान्यता दिने भएपछि पार्टी विभाजन प्रक्रियामा रहेका नेपाललाई फाइदा हुने भएको छ । आयोगको यो निर्णयअनुसार नेपाल पक्षले सनाखतका क्रममा केन्द्रीय कमिटीका २०३ सदस्यको २० प्रतिशत आफ्नो पक्षमा पु¥याउँदा हुने भएको छ । त्यसैगरी ३१ जना सांसदको समर्थन भए पुग्नेछ ।
एमालेका प्रतिनिधिसभामा १२१ र राष्ट्रियसभामा ३३ गरी १५४ सांसद छन् । नेपाललाई पार्टी विभाजन गर्न अप्ठेरो भएपछि सरकारले राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याएको थियो ।








