काठमाडौं। महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले रुकुम घटनामा भइरहेको अनुसन्धानबाट सञ्चार माध्यममा आएका कुराहरु भन्दा फरक तथ्यहरु फेला परेको बताएका छन्।
संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको कानून, न्याय तथा मानव अधिकार समितिको मंगलबारको बैठकमा सरकारको तर्फबाट धारणा राख्दै महान्यायाधिवक्ता खरेलले रुकुम घटनामा सम्बन्धमा अहिलेसम्म जे जति कुराहरु बाहिर आएका छन् त्यो भन्दा फरक प्रमाणहरु अनुसन्धानको क्रममा भेटिएको बताएका हुन्।
‘अहिले मिडियामा जे कुरा आइराखेका छन् अनुसन्धानमा त्यो देखिएको छैन’, खरेलले भने, ‘अहिले जे लेखिराखिएको छ अनुसन्धान प्रमाणले त्यो कुरा पुष्टि गर्ने वाला छैन, केही कुरा मान्छेको व्यक्तिगत जीवनसँग अन्यन्त गम्भिर छन्।’
खरेलले घटनासँग सम्बन्धित किशोरीको उमेर १८ वर्ष नपुेको उल्लेख गर्दै भने, ‘व्यक्तिगत जीवनसँग सम्बन्धित विषयमा लेख्नुअघि मिडियाले दश चोटी सोच्नु पर्ने थियो।’
मिडियामा आएका कुरा प्रमाणित नहुने ठोकुवा गर्दै खरेलले थपे, ‘रुकुम घटनाबारे अनुसन्धान गरिरहेका सरकारी वकिल र त्यहाँका डिएसपीलाई सोध्दाखेरी ती कुरा देखिएका छैनन्।’
खरेलले अनुसन्धान र अभियोजनामा कुनैपनि खालको प्रभाव पर्न नदिने प्रतिवद्धता पनि जनाए।
‘कुनैपनि खालका प्रभावहरु अनुसन्धान र अभियोजनामा पर्दैन्।महान्यायाधिवक्ताको हैसियतले म नेपाल सरकारको तर्फबाट ढुक्क हुनको निम्ति अनुरोध गर्छु’, खरेलले भने, ‘कुनैपनि खालको कसैको पनि भनाई त्यहाँ सुनिने छैन्। मैले जिल्ला प्रहरीलाई र जिल्ला सरकारी वकिललाई यतिसम्म भनेको छु– तपाईंहरूलाई यदि कसैले फोन गर्छ भने कृपया त्यो फोन मलाई डाइभर्ट गरिदिनुस् र, मेरो टेलिफोन नम्बर दिनुहोस्, यो विषयमा महान्यायाधिवक्ताले नै तपाईंसँग कुरा गर्नुहुन्छ भन्नुहोस्।’
गृह मन्त्रालयका सचिव महेश्वर न्यौपानेले नेपाल प्रहरीको सम्बन्धित निकायले घटनाको अनुसन्धान सुरु गरेपनि त्यसलाई सघाउन र गृह मन्त्रालय अझ स्पस्ट हुन सहसचिव जितेन्द्र बस्नेतको नेतृत्वमा पाँच सदस्यीय समिति गठन गरी अनुसन्धान अगाडि बढाएको बताए।
‘त्यसले तथ्य खोज्ने र अनुसन्धानमा सहयोग गर्ने काम गर्नेछ, त्यही आधारमा सरकारले पीडित पक्षलाई सम्बोधन गर्नेछ’, उनले भने।
प्रहरी महानिरीक्षक ठाकुर प्रसाद ज्ञवालीले घटना गम्भीर भएकाले सरकारले गठन गरेको समितिसँगै संघीय प्रहरी इकाई कर्णालीको प्रहरी वरिष्ठ उपरिक्षकको नेतृत्वमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरोले पनि अनुसन्धान गरिरहेको बताए।
१८ जनालाई पक्राउ गरी अनुसन्धान सुरु गरिसकेको बताउँदै ज्ञवालीले भने, ‘२० जनारिुद्ध किटानी जाहेरी आएको छ, १८ जना पक्राउ परेका छन्, २ जनालाई अहिलेसम्म पक्राउ गर्न सकिएको छैन।’
‘उनीहरुलाई पहिलोपटक म्याद लिएर अनुसन्धान कार्य गरिएको छ र बयान पनि सुरु भएको छ’, उनले भने।








