चितवन : कालिका नगरपालिकाले स्वास्थ्य सुविधा सहित एकसय शैयाको क्वारेन्टाइन निर्माण गरेको छ ।जिल्ला बाहिरबाट आएकालाई राख्नको लागि नगरपालिकाले आफ्नो वडाको विभिन्न क्षेत्रमा एकसय शैयाको क्वारेन्टाइन निर्माण गरेको हो । भारतबाट आउने नगरवासीहरु भएपछि नगर क्षेत्रको विद्यालयमा वाइफाइ सुविधासहितको क्वारेन्टाइन निर्माण गरेको हो ।
भारत र जिल्ला बाहिरबाट आएकालाई घर जान नदिएर क्वारेन्टाइनमा १४ दिन राखेपछि मात्र स्वस्थ भएमा मात्र घर पठाउने गरी निर्माण गरेको कालिका नगरपालिका प्रमुख खुमनारायण श्रेष्ठले जानकारी दिनु भयो । क्वारेन्टाइनमा बस्नेहरुको लागि नगरपालिका आफैले खानाको व्यवस्था, नियमित स्वास्थ्य परीक्षणको व्यवस्था, सुरक्षा, बस्दा सूचना सञ्चारको पहुँच बनाउन वाइफाइ जडान गरेको नगर प्रमुख श्रेष्ठले बताउनु भयो ।
त्यससंगै क्वारेन्टाइनमा वस्नेहरुको स्वास्थ्य पहिलो प्राथमिकतामा राखेर काम गरेको जानकारी दिनु भयो । दुरी व्यवस्थापन, स्वास्थ्य परीक्षण, खानामा ध्यान, पुन प्रयोग गर्न नमिल्ने भाडामा खाने सामग्री दिने, घरबाट खाना ल्याउन निषेध, चौविसै घण्टा दुइवटा एम्वुलेन्सको व्यवस्था गरेको कालिका नगरपालिका प्रमुख प्रशासकीय अधिकृत यज्ञ पुरीले जानकारी दिनु भयो ।
नगरपालिका भित्र ८ स्थानमा क्वारेन्टाइन निर्माण गरिएको छ । क्वारेन्टाइनमा बसेका व्यक्तिको परिवारले काम गर्न चाहेमा उनीहरुलाई कामको व्यवस्था समेत मिलाइदिने जानकारी दिनु भयो । नगरपलिकामा अहिलेसम्म भारतसहित वैदेशिक रोजगारीमा गएका दुइहजार ५ सय ४४ जना रहेको प्रमुख श्रेष्ठले जानकारी दिनु भयो ।








