काठमाडौं । सरकारले लकडाउन गरेको साढे २ महिनासम्म पनि व्यवसाय सञ्चालन कार्यविधि बनाउन नसक्दा व्यवसायीदेखि सर्वसाधारणसम्म आक्रोशित हुनथालेका छन्। ०७६ चैत ११ देखि लकडाउन गरेर सरकार चुपचाप बसेको उनीहरुले आरोप लगाएका हुन्।
देशका विभिन्न ठाउँमा व्यवसायीहरुले लकडाउन उल्लंघन गर्दै धेरै ठाउँमा बुधबारबाट खोल्नथालेका छन्। बिहीबार काठमाडौंका अधिकांश ठाउँमा पसलहरु खुलेका छन्।
घरबेटीले भाडा माग्ने र सरकारले कर तिर्न उर्दी जारी गरेको भन्दै व्यवसायी आक्रोशित बनिरहेका छन्। नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष किशोर प्रधानले लकडाउनले भन्दा पनि भोकमरीले मर्ने बढी हुने भएकोले पसल खोलेको बताए।
‘लकडाउनले भन्दा पनि भोकमरीले मर्ने बढी हुने भए, अब पसल खोल्नुको विकल्प रहेन’, उपाध्यक्ष प्रधानले भने, ‘सरकारलाई कर उठाउन हतार भयो कर तिर्नको लागि पनि व्यवसाय सञ्चालन त गर्नु नै पर्यो।’
उनले व्यवसायीहरुले साढे दुई महिनादेखि सरकारको कानुन मानेरै बसेको भन्दै अब त सरकारले विकल्प दिनुपर्ने बताए।
सरकारले भने लकडाउनपछिको अवस्था कस्तो हुने भन्दै छलफल सुरु गरेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार विज्ञहरुलाई बोलाएर यसबारे छलफल समेत गरेका थिए।
कोभिड १९ संकट व्यवस्थापन केन्द्र, कोरोना रोकथाम उच्चस्तरीय समितिले पनि कार्यविधिको विषयमा अझै छलफल गरिरहेको छ।
व्यवसायीहरुले सरकारले साढे दुई महिनासम्म के हेरेर बसेको भन्दै अहिलेसम्म कार्यविधि नबनाएकोमा प्रश्न गरेका छन्।
‘व्यापार व्यवसाय कसरी सञ्चालन गर्ने भन्ने विषयमा सरकारले कार्यविधि बनाउँदै छ’, वाणिज्य विभागका महानिर्देशक नेत्र प्रसाद सुवेदीले भने, ‘हामीले सचिव वैकुण्ठ अर्याललाई कार्यविधिको सुझाव पनि दिएका छौं। अन्तिमरुप दिई मन्त्रिपरिषदले छिट्टै सार्वजनिक गर्ला।’
महानिर्देशक सुवेदीले सबै व्यवसाय एकैपटक खोल्नेभन्दा पनि चरणबद्धरुपमा खोल्ने गरी छलफल भइरहेको बताए।
यसका अलावा सरकारले सार्वजनिक यातायात सञ्चालन गर्ने विषयमा पनि केही निर्णय गर्न सकेको छैन। यातायात व्यवस्था विभागले मस्यौदा तयार गरी छलफल चलाए पनि पास भइसकेको छैन। यातायात सञ्चालन नभए कुनै व्यवसाय पनि चलायमान नहुने व्यवसायीहरुले बताउँदै आएका छन्।








