काठमाडौं । सार्वजनिक बस र सपिङ मलहरुमा पाकेट मारेको आरोपमा प्रहरीले काठमाडौंबाट २०७ जनालाई पक्राउ गरेको छ । चक्रपथभित्र र बाहिर अपरेशन चलाएर गत भदौ २५ गतेदेखि २०७ जना पाकेटमारलाई पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।उक्त घटनामा संलग्नमध्ये १६२ जनालाई कारागारमा थुनामा पठाइएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी अशोक सिंहले जाकारी दिए । उनका अनुसार, जिल्ला प्रशासन कार्यालयले मागेको धरौटी बुझाउन नसक्दा उनीहरुलाई कारागार पठाइएको हो ।
दशैं, तिहार र छठमा नजिकिँदै गर्दा सामान किनमेल गर्दा र यात्रा गर्दा धेरै पाकेटमारी हुने गरेको गुनासो आएपछि प्रहरीले पाकेटमारविरुद्ध अपरेशन चलाएको थियो । सार्वजनिक बस, माइक्रोबस र सार्वजनिक स्थलहरुमा सादा पोशाकका प्रहरी खटाएर प्रहरीले उनीहरुलाई पक्राउ गरेको जनाइएको छ । सार्वजनिक बसहरूमा दुई/दुई जनाको दरले ६ जनाको समूह बनाएर छिर्ने पाकेटमारहरुले यात्रुलाई ठेलेर घेराबन्दीमा पारेर गोजीबाट पैसा निकाल्ने गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।
प्रहरीका अनुसार, उनीहरुले सांकेतिक भाषाको प्रयोग गर्ने गरेको छ । उनीहरुले पैसालाई द, मोबाइललाई कान, पाकेटमारी सकेको मान्छेलाई रामे, पाकेटमारका मास्टरलाई काशी, पैसा धेरै छलाईः टानको द, पैसा थोरै छलाई जुटको द, गाडीलाई काँचा, केटालाई छापा, केटीलाई भद्री, पुलिस आयोलाई ठुल्दाई आयो, ड्राइभरलाई माम, खलासीलाई मले, गाडीबाट झरेर भागलाई टप्की, गाडीभित्र अगाडि सरलाई अकल जा र गाडीभित्र पछाडि सरलाई चिछल जा जस्ता सांकेतिक भाषा प्रयोग गरी सर्वसाधारणको पाकेट मार्ने गरेको छ ।








