चितवन । चितवनमा सवारी चालक अनुमति पत्र (लाइसेन्स) नविकरणको काम दशैं अघि सुरु नहुने भएको छ । यातायात व्यवस्था सेवा कार्यालय चितवनले यस अघि दशैं अघि नै लाइसेन्स नविकरणको काम सुरु गर्ने तयारी गरे पनि प्राविधिक कारण ढिलाई भएको जानकारी दिएको हो ।यातायात कार्यालयले भौतिक पूर्वाधार विकास मन्त्रालयसँग कर्मचारी माग गरेका तर मन्त्रालयबाट निर्णय नभईसकेकोले दशैं अघि नै काम सुरु गर्न नसकिएकोले दशैंपछिमात्र नविकरणको काम शुरु हुने कार्यालयका प्रमुख सुबास उप्रेतीले जानकारी दिए ।
“हामीले मन्त्रालयसँग कर्मचारी माग गेरका थियौं । तर मन्त्रालयबाट निर्णय भइसकेको छैन, उनले भने, अब एक दुई दिनमा निर्णय हुन्छ होला ।” यातायात कार्यालयमा अहिले दरबन्दीका ८ जना कर्मचारी मात्रै छन् । लाइसेन्स नविकरणको काम गर्नका लागि अहिले कार्यालयमा रहेका कर्मचारी अपुग भएको उनले बताए । ‘यसका लागि कार्यालयले आन्तरिक तयारी गरिरहेको छ । लाइसेन्स नविकरणका लागि सिस्टम जडान गर्न आवश्यक सामाग्री खरिदको तयारी भइरहेको छ ।’ उप्रेतीले भने ।उनका अनुसार खरिद प्रक्रिया टुङ्गिएको छ ।
केही दिनमा नै यातायात बिभागबाट प्राविधिकको टोली आएर सिस्टम जडान गर्नेछन। दशैं अघि सुरु गर्न नसकिए पनि तिहार अघिबाट काम गर्ने गरी तयारी गरिएको हो । बागमती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले भदौ ३ गते यातायात कार्यालय चितवनलाई लाइसेन्स सम्बन्धि सम्पूर्ण काम गर्ने अधिकार दिने निर्णय गरेको थियो ।
भौतिक पूर्वाधार विकास मन्त्री केशवराज पाण्डेले आफ्नो पहिलो बैठकबाट उक्त निर्णय गरेका थिए । मन्त्रालयको निर्णयपछि यातायात कार्यालयले आन्तरिक तयारी थालेको थियो । नयाँ लाइसेन्स जारी गर्नका लागि प्राविधिकसँगै भौतिक संरचना निर्माणका काम पनि गर्नु पर्ने भएकोले केशी समय लाग्ने कार्यालय प्रमुख उप्रेतीले बताए ।








