काठमाडौँ । नेपाल दक्षिण एसियाली प्रतिष्ठित साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको १३औँ संस्करणको फाइनलमा प्रवेश गरेको छ । माल्दिभ्सको मालेमा जारी लिग चरणको अन्तिम खेलमा १० खेलाडीमा समेटिएको बंगलादेशसँग १-१को बराबरी खेलेर नेपाल पहिलोपटक साफ च्याम्पियनसिपको उपाधि होडमा पुगेको हो ।
बंगलादेशको लागि सुमन रेजाले खेलको ९ मिनेटमा गोल गर्दै सुरुवाती अग्रता दिलाएका थिए । कप्तान जमल भुयानले दिएको फ्रिकिक पासमा सुमनले सिक्स यार्ड बक्सबाट हेडिङ गोल गरेका थिए । खेलको ७९औँ मिनेटमा बंगलादेशका गोलकिपर अनिसुर रहमान जिकोले रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि बंगलादेश १० खेलाडीमा समेटिएको थियो ।
त्यसपछि दबाबमा परेको बंगलादेशविरुद्ध नेपालका अञ्जन विष्टले गोल गरे । ८८औँ मिनेटमा अञ्जनले पेनाल्टीमा गोल गरेका हुन् । योसँगै नेपाल पहिलो पटक साफको फाइनलमा पुगेको छ । यसअघि साफमा सेमिफाइनलसम्मको यात्रा नेपालको ठूलो उपलब्धी थियो ।








