काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) का पूर्व अध्यक्ष गणेश थापाले नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीलाई दक्षिण एसिया फुटबल महासंघ (साफ) ले कारबाही गर्न नमिल्ने बताएका छन् । साफ च्याम्पियनसिप २०२१ को उपाधिका लागि नेपाल र भारतबिचको आजको खेलमा मुख्य प्रशिक्षक अलमुताइरीमाथि साफले प्रतिबन्ध लगाएसंगै पूर्व अध्यक्ष थापाले साफले उक्त निर्णय सच्याउनु पर्ने बताएका छन् ।
‘साफको नियमावली अनुसार कुनैपनि हालतमा नेपाली राष्ट्रिय टिमका मुख्य प्रशिक्षक अलमुताइरीलाई कारबाही गर्न मिल्दैन। साफले तुरुन्त आफ्नो निर्णय सच्याउनु पर्दछ। सामाजिक संजालमा लेख्दै थापाले भनेका छन्,एन्फा नेतृत्व स्वयं माल्दिभ्समा भएको अवस्थामा साफको बैठकमा र एफसी तथा फिफा मा कुरा गर्नु पर्दछ।’ थापाले साफले कारबाही गर्ने निर्णय नसच्याए मुख्य प्रशिक्षक र नेपाललाई ठूलो अन्याय हुने समेत बताएका छन् ।
उनले हरेक प्रतियोगिताको छुट्टाछुट्टै नियावली बनाएको बताउँदै असाधारण परिस्थिति आएको अवस्थामा बाहेक एफसी र फिफाको नियमावली देखाएर कारवाही गर्न नमिल्ने बताएका छन्। प्रतियोगिताको लिग चरण दौरान दुई फरक खेलमा पहेंलो कार्ड पाएको भन्दै साफले मुख्य प्रशिक्षक अलमुताइरीमाथि प्रतिबन्ध लगाएको हो।








