चितवन। हिजो बसेको नगरस्तरीय कोरोना रोकथाम तथा नियन्त्रण समन्वय समितिको बैठकले चितवनको माडी नगरपालिका क्षेत्रलाई पाँच दिनसम्मका लागि सिल गर्ने जनाएको छ ।
उक्त समितिको बैठकले आजदेखि लागू हुने गरी पाँच दिनसम्मका लागि नगरलाईनै सिल गर्ने निर्णय गरेको हो । नगरप्रमुख ठाकुरप्रसाद ढकालको अनुसार यस अवधिमा अत्यावश्यकीय सवारी साधनबाहेक अन्यको हकमा माडी प्रवेश गर्ने र माडी बाहिर जाने कार्यलाई पूर्णरूपमा बन्द गरिएको छ ।
माडी नगरपालिकामानै सङ्क्रमित देखापरेसाथै जिल्लामा कोरोना सं’क्रमि’तको संख्या बढ्न थालेपछि यस्तो निर्णय गरिएको ढकालले बताए । समितिको निर्णयअनुसार माडीभित्र पनि सबै मोटरसाइकल, अटो, टेम्पोलगायत सवारी साधन चलाउन पूर्णरूपमा रोक लगाइएको हुँदा कुनै पनि बहानामा सवारी साधन चलाउन पाइनेछैन ।
यसैगरी अत्यावश्यकीय सेवा प्रदान गर्ने संस्था तथा पसलबाहेक अन्य सङ्घसंस्था तथा पसल पूर्णरूपमा बन्द गराउने, अति आवश्यक कामले घर बाहिर निस्कनुपरेमा सुरक्षाकर्मीलाई जानकारी गराउनुका साथै सामाजिक दूरी कायम गरी मास्कको प्रयोग अनिवार्यरूपमा गर्ने, सङ्घसंस्था तथा पसलमा हात धुने व्यवस्था र सामाजिक दूरी कायम गर्ने/गराउने निर्णय भएको छ । त्यस्तै स्वास्थ्यसम्बन्धी कुनै समस्या भएमा नजिकको स्वास्थ्य संस्था वा बघौडा अस्पतालमा सम्पर्क गर्ने निर्णय गरिएको नगरप्रमुख ढकालले बताए ।








