चितवन । पूर्वी चितवनको कालिका नगरपालिकामा सम्पन्न सेन्ट्रल कलेज जिल्ला स्तरीय नकआउट फुटबलको उपाधि वाईसीएल कालिकाले जितेको छ । फाइनलमा रोधिज्ञा स्पोर्टस गैंडाखोलालाई ५-३ ले हराउँदै वाईसीएलले उपाधि जितेको हो ।
उपाधि बिजेता वाईसीएलले एक लाख २५ हजारसहित ट्रफी प्राप्त गरेको छ । उपबिजेतामा सीमित रोधिज्ञाले ७५ हजारमा चित्त बुझाएको छ । वाईसीएल कालिकाका सुमन क्षेत्री प्रतियोगिताभरको उत्कृष्ट खेलाडी घोषित भए । उनले नगद पाँच हजार प्राप्त गरे । उनीहरुलाई कार्यक्रमका प्रमुख अतिथि नेपाली काँग्रेस भरतपुरका सभापति जितनारायन श्रेष्ठ, जिपी फाउण्डेशनका जिल्ला अध्यक्ष कमलप्रसाद आचार्य,सेन्ट्रल कलेज अफ भोकेशनल ट्रेनिङका प्रिन्सिपल यज्ञ बिलास पौडेल (वाईवि)ले पुरस्कार वितरण गरेका थिए ।
गिरिजाप्रसाद कोइराला फाउण्डेशन चितवनले आयोजनामा सम्पन्न प्रतियोगिताको मुख्य प्रायोजकमा सेन्ट्रल कलेज अफ भोकेशनल ट्रेनिङ तथा सहयोगी संस्थाहरुमा कालिका नगरपालिका र चितवन जिल्ला फुटबल संघ थिए । कार्तिक ७ गतेदेखि सुरु भएको प्रतियोगितामा १२ टोली सहभागी भएको प्रतियोगिताका संयोजक राजकुमार अधिकारीले बताए ।











