चितवन । नारायणगढ मुग्लिङ सडकखण्ड एकतर्फीरुपमा संचालनमा आएको छ । सडक अवरुद्ध भएको करिब १५ घण्टापछि सडक एकतर्फी सूचारु भएको हो । बिहान करिब ३।३० बजेतिरबाट अवरुद्ध भएको सडक बेलुका करिब ६।३० मा खुलेको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी निरिक्षक दयाकृष्ण भट्टले जानकारी दिए । बाटो एकतर्फी खुलेपनि तत्कालै ठूलो सवारीसाधन संचालन हुन कठिन रहेको र हाल साना गाडी र मोटरसाइकललाई प्राथमिकता दिइएको उनले बताए । सडक विस्तारको क्रममा उच्च जोखिम युक्त क्षेत्र निर्धारण भएको स्थानमा पहिरो रोकथामको काम भइरहेको थियो । पहिरो रोकथामको काम भइरहेको स्थानमा नै पहिरो खसेर सडक नै अवरुद्ध भएको हो । पहिरोले गर्दा पहिरो रोकथामको लागि जडान तयार गरिएको स्क्याफ फोल्डिङ समेत भत्काएको नारायणगढ मुग्लिङ सडक आयोजनाका सूचना अधिकारी इन्जिनियर शिव खनालले बताए । सडक अवरुद्ध हुदाँ सयौं मालबाहक तथा निजी सवारीसाधन अलपत्र परेका थिए । पहिरो हटाउन लोडर लगायतको तिनवटा मेसिन प्रयोग गरिएको थियो ।








