चितवन । देवघाट क्षेत्र विकास समिति अन्तर्गत पर्ने नवलपुर, चितवन र तनहुँको धार्मिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यका साथ देवघाटधामको पूर्ण परिक्रमा गरिएको छ । देवघाट क्षेत्र विकास समितिले बुधबार यहाँका देवस्थलहरुको परिक्रमा गरेको हो । देवघाटधामको धार्मिक महत्व एवं भौतिक विकासलाई सम्वद्र्धन गर्दै वैदिक सनातन धर्म र संस्कृतिको प्रचार प्रसार गर्ने उद्देश्यका साथ गण्डकी परिक्रमा कार्यक्रमको आयोजना गरिएको देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक धिरणबाबु घिमिरेले जानकारी दिए ।
सो अवसरमा दुर्लभ देव नदीहरुको पूजन, सिद्ध हरिहर क्षेत्रको भ्रमण, मौलाकालिका दर्शनलगायतका कार्यक्रम गरिएको निर्देशक घिमिरेले बताए । देवघाट परिक्रमामा तनहुँतर्फ देवघाट वेणीसंगम, चितवनतर्फ देवघाट बसपार्क हुँदै नवलपुरतर्फ गैँडाकोटको पुलचोकबाट मौलाकालिकासम्म पैदल परिक्रमा गरिएको हो ।
करिव २१ किलोमिटर पैदल हिँडेर यहाँ रहेका धार्मिक देवस्थलहरुको परिक्रमा गरिएको थियो । यसरी पूरै देवघाट क्षेत्रको परिकक्रमा गर्दा आफूले गरेका पापहरु नष्ट भई मोक्ष मिल्ने देवघाट क्षेत्र विकास समितिका अध्यक्ष बद्रीप्रसाद अधिकारीले बताए । कार्यक्रमले देवघाटको धार्मिक एवं सांस्कृतिक पहिचान झल्कने, महिमा र गरिमा अभिवृद्धि हुने अधिकारीले बताए ।
पवित्र कालिगण्डकी र त्रिशुली नदीको संगम रहेको देवघाटको वेणी संगममा माघे संंक्रान्ती, साउने मेला लगायतका मेला महोत्सव हुने गर्दछ ।








