काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचन साउन २५ र २६ गते हुने भएको छ । महासंघको आइतबार बसेको पदाधिकारी बैठकले साउन २५ र २६ मा साधारणसभा गर्ने निर्णय गरेको हो । पदाधिकारी बैठकको निर्णयलाई सोमबार बस्ने कार्यसमिति बैठकमा अनुमोदनका लागि प्रस्तुत गर्ने जनाइएको छ । गत चैत २८ र २९ गते हुने भनिएको निर्वाचन कोरोना संक्रमणको कारण भएको लकडाउनको कारण रोकिएको थियो । रोकिएको निर्वाचन जेठ ७ गते पनि हुन सकेको थिएन । महासंघको विधान अनुसार वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने प्रावाधान रहेकाले अध्यक्षमा शेखर गोल्छा स्वतः चयन हुने छन् । वरिष्ठ उपाध्यक्षमा भने चन्द्रप्रसाद ढकाल र किशोर प्रधानको उम्मेदवारी घोषणा भइसकेको छ।








