गैँडाकोट । गैँडाकोटमा कोभिड १९ का कारण मृत्यु भएका व्यक्तिको परिवारका लागि ५० हजार रुपैयाँ आर्थिक सहायता उपलब्ध गराईने भएको छ । गैँडाकोट नगरपालिका स्थायी ठेगाना भई नेपालभित्र कोभिड १९ को कारण मृत्यु भएकाहरुका परिवारलाई एकसाता भित्र नगरपालिकाको स्वास्थ्य शाखामा सम्पर्क राख्न भनिएको छ ।
आर्थिक सहायता दावी गर्न नगरपालिकाको स्वास्थ्य शाखामा आवश्यक प्रमाणसहित सम्पर्क गर्न नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत छविलाल सुवेदीले आग्रह गर्नुभयो । मृतकको कोभिड १९ पोजेटिभ भएको रिपोर्ट, अस्पतालले दिएको कोभिड १९ का कारण मृत्यु भएको प्रमाणपत्र, मृत्युदर्ता प्रमाणपत्रको प्रतिलीपि, मृतकसँगको नाता प्रमाणित, बैंक खाता लगायतका कागजपत्र र प्रक्रिया पु¥याउनुपर्ने उहाँले बताउनुभयो ।
स्वास्थ्य शाखा प्रमुख झलकराज पौडेलका अनुसार गैँडाकोटमा गत आर्थिक वर्षमा २३ जना र चालु आर्थिक वर्ष ५ जना गरि २८ जनाको मृत्यु भएको तथ्याङ्क छ । तोकिएका आवश्यक कागजात पूरा गर्ने परिवारलाई आर्थिक सहायता उपलब्ध गराईने पौडेलले बताउनुभयो । मृतक परिवारका १८ वर्षमुनिका बालबालिकालाई समेत पढाइखर्च स्वरुप आर्थिक सहायता उपलब्ध गराईने छ ।








