चितवन । तमू ल्होसारमा सार्वजनिक विदा दिने सरकारको निर्णयको चितवनका गुरुङ समुदायले स्वागत गरेका छन् । तमू ल्होसारको अवसरमा आज (बिहीबार) भरतपुरमा तमु ह्युल छोज् घी गुरुङ राष्ट्रिय परिषद् चितवनले आयोजना गरेको कार्यक्रममा बोल्ने बक्ताहरुले उक्त निर्णयको स्वागत गरेका हुन् ।
गुरुङ राष्ट्रिय परिषद्का वरिष्ठ उपाध्यक्ष कर्ण गुरुङले ल्होसारमा सार्वजनिक विदा दिने निर्णय गरेको भन्दै सरकारलाई धन्यवाद दिएका छन् । उनले ढिलै भए पनि सार्वजनिक विदा दिने सरकारको निर्णयले पर्व मनाउन सहज भएको बताए । “गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री हुँदा सार्वजनिक विदा सबै जनजातीहरुलाई दिनु भएको हो । ओली जिको पालोमा कटौती भयो । हिजो राती ढिला गरेर भए पनि सरकारले सार्वजनिक विदा दिएको छ, उनले भने, विद्यार्थीको परीक्षा पर्दा विद्यार्थीले परीक्षा दिन जाने कि पर्व मनाउन जाने दिविधा थियो ।
प्रधानमन्त्री ज्युलाई धन्यवाद नदिई बस्न सक्दैनौं ।” तमु ह्युल छोज् घी गुरुङ राष्ट्रिय परिषद्का अध्यक्ष गणेश बहादुर गुरुङले प्रधानमन्त्री शेर बहादुर देउवा नेतृत्वको सरकारलाई धन्यवाद दिएका छन् । पूर्व प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले कटौती गरेको विदा अहिलेको सरकारले फेरि भन्दै उनले गुरुङ समुदायको तर्फबाट धन्यवाद व्यक्त गरे । “स्व गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री हुँदा प्राप्त गरेको सार्वजनिक विदालाई केपी ओली नेतृत्वको सरकारको सरकारले कटौती गरेको थियो ।
अहिले त्यो विदा प्राप्त भएको छ, उनले भने, तमू समुदायको तर्फबाट देवा नेतृत्वको सरकारलाई धन्यवाद ज्ञापन गर्न चाहन्छौं ।” सरकारले बुधवार साँझ मात्रै तमू ल्होसारमा सार्वजनिक विदा दिने निर्णय गरेको थियो । सरकारको उक्त निर्णयको देशभरका तमू समुदायले स्वागत गरेका छन् ।








