नवलपुर । देवचुली नगरपालिका वडा नं १६ रजहरमा रहेकोे धुसेरी सामुदायिक वन उपभोक्ता समूहद्वारा निर्माणधिन आकाशे पानी संकलन तथा भलपानी व्यवस्थापन गरि पोखरी निर्माणको कार्य अन्तिम चरणमा पुगेको छ । धसुेरी सामुदायिक वनका उपभोक्ताहरुलाई आर्थिक उपार्जन गर्न पोखरीमा पर्यापर्यटनको सम्भावना सहित बोटिड्ड गराउन, वन डढेलो लागेको बेला आगो निभाउन, सिंचाई गर्न एवं पोखरीमा माछा पालन गर्ने उद्धेश्य राखि निर्माण गरिएको धुसेरी सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष लोक बहादुर कार्कीले बताउनुभयो । पोखरी ६० र ६५ मिटर लम्बाईमा निर्माण गरिएको छ भने भोलिका दिनमा यसलाई १ सय मिटर सम्म बनाउने योजना समेत रहेको अध्यक्ष कार्कीले बताए । पोखरी २० मिटर चौडा र २ मिटर गहिरो रहेको छ । पोखरीमा आकाशे पानी संकलन गरिने भनिए पनि कालिलहरा झ्याड्ड मुहानको स्रोतबाट संकलन गरिने भएको छ । पोखरी निर्माणका लागि भूमि तथा जलधार व्यवस्थापन कार्यालय तनहुँले रु ३ लाख ८९ हजार सहयोग गरेको छ भने करिब १० लाख लागतमा पोखरी निर्माण भएको कार्कीले जानकारी दिनुभयो ।








