चितवन । चितवनमा मंगलबार जुवा खेलिरहेका ८ जनालाई प्रहरीले पक्राउ गरेको छ । भरतपुर महानगरपालिका वडा नम्बर १ मिलन रोड स्थित प्रकाशमान कर्माचार्यको घरमा लुकिछिपी जुवातास खेलिरहेको अवस्थामा अपरान्ह ४ बजे प्रहरीले उनिहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा भरतपुर महानगरपालिका १ का ५५ वर्षीय प्रकाशमान कर्माचार्य, सोही स्थानका ४५ वर्षीय सरस्वती कुमार श्रेष्ठ, ५७ वर्षीय गम्भीर श्रेष्ठ, ४१ वर्षीय अनिल कुमार श्रेष्ठ, ४९ वर्षीय राज कुमार श्रेष्ठ, ४५ वर्षीय सुर्य कुमार श्रेष्ठ, ३५ वर्षीय पुष्प श्रेष्ठ र भारतको कोलकाता घर भई हाल भरतपुर महानगरपालिका वडा नम्बर २ बस्ने ३८ वर्षीय बप्पी खान रहेका छन् । उनीहरुको साथबाट ६१ हजार ७४३ रुपैयाँ र तीन बुक तास बरामद गरेको जिल्ला प्रहरी कार्यालय, चितवनका प्रवक्ता सूर्य थापाले जानकारी दिए । उनीहरुलाई जुवा कसुरअन्तर्गत मुद्दा दर्ता गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।








