काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणले अबको ४ दिन वर्षकै अत्यधिक वर्षा हुने अनुमान गरिएको बताएको छ । प्राधिकरणका अनुसार असार २५ देखि २८ गतेसम्म प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशमा वर्षकै अत्यधिक वर्षा हुने अनुमान छ । बाढी, पहिरो र डुबानको जोखिम उच्च रहेको रहेको पनि बताइएको छ । बैशाखदेखि लगातार वर्षा भइरहेका कारण पहाडी भुभागको माटो गलिसकेकाले त्यस क्षेत्रमा पहिरो जान सक्ने र खोलानाला र खहरेहरुमा बाढी आउने सम्भावना रहेको प्राधिकरणले जनाएको छ। शुक्रबारदेखि कन्काई, कमला, कोशी, बागमती, नारायणीसहित अन्य सहायक नदीमा बाढी आउन सक्ने र त्यसले खतरा निम्त्याउन सक्ने प्राधिकरणले बताएको छ । तराईका झापा, मोरङ, सुनसरी, सप्तरी, धनुषा, महोत्तरी, सिराहा, सर्लाही, बारा, पर्सा, रौतहट, चितवनका होचो क्षेत्रहरु डुबानको उच्च जोखिममा रहेको प्राधिकरणले जनाएको छ। प्राधिकरणले संघीय मन्त्रालय, प्रादेशिक सरकार, स्थानीय सरकार, राजनीतिक दलहरु, संयुक्त राष्ट्र संघीय एजेन्सीहरु, विकास साझेदारहरु, सरकारी ,गैरसरकारी र निजी क्षेत्रसहित सर्वसाधारणलाई उच्च सतर्कता अपनाउन र सुरक्षित स्थानमा रहन पनि आग्रह गरेको छ ।








