चितवन । जिल्ला सहित देशभर लगातार वर्षा भइरहेको छ । जिल्लाको माडी क्षेत्र वर्षातका कारण जोखिममा रहेको देखिन्छ । बनकट्टा, कल्याणपुर र आसपासका क्षेत्रमा पनि भारी वर्षा भएको छ । रिउखोलामा जलसतह सतर्कतासम्म पुग्न सक्ने भएकाले माडी नगरपालिकाको तटीय क्षेत्रमा आज बिहान ९ बजेसम्म सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ । जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाका अनुसार आज देशका सबै प्रदेशमा वर्षा भइरहेको छ । चितवनमा विशेषगरी नारायणी, रिउ, राप्ती खोलाबाट बाढी आउने खतरा रहेको छ । चितवन प्रशासनले बाढी आउन सक्ने भएकाले सबैलाई सतर्क भएर बस्न आग्रह गरेको छ । प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराईले तटिए क्षेत्रमा बसोबास गर्नेहरुलाई उच्च सतर्कता र साबधानी अपनाउन आग्रह गर्नु भएको हो ।








