चितवनः भरतपुर महानगरपालिका वडा नम्बर ८ मा रहेको महत्तो पोल्ट्री इन्डस्ट्रिज प्रा.लि.को खोरमा रहेका कुखुरामा बर्डफ्लु देखिए पछि नष्ट गरिएको छ । भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र चितवनले आज कुखुरा नष्ट गरेको हो ।
केही दिन अघि देखि कुखुरा मर्न थालेपछि नमुना परिक्षण गरिएको थियो । कार्यालयका निमित्त प्रमुख डा. प्रभात न्यौपानेका अनुसार फर्ममा रहेका ५ हजार ३ सय ५ वटा लेयर्स कुखुरा, १८ वटा हाँस, १ सय किलो दाना र १ सय ७६ वटा अण्डा नष्ट गरिएको छ । खोरलाई शिल गरेर नजिकै रहेको एउटा मासु पसल र वरिपरि पालिएका १८ वटा कुखुरा समेत नष्ट गरिएको उहाँले जानकारी दिनुभयो ।
फर्ममा ३ वटा खोर रहेका थिए । एउटा खोरमा २१ महिनाका १ हजार ५ सय कुखुरा रहेकोमा मरेर ४६ वटा बाँकी रहेका थियो । दोस्रोमा ७ महिनाका २ हजार ४ सय कुखुरा राखिएकोमा मरेर २ सय ३२ बाँकी रहेका थिए । तेस्रोमा २८ दिनका ५ हजार १ सय कुखुरा राखिएकोमा मरेर ५ हजार २७ बाँकी रहेको न्यौपानेले जानकारी दिनुभयो ।
केहीदिन अघि जिल्लाकै राप्ती नगरपालिका वडा नम्बर ६ मा रहेको अनिता पशुपक्षी कृषि फार्ममा बर्डफ्लु देखिएको थियो । न्यौपानेले जिल्लामा ठूलो संख्यामा कुखुरा भएकाले उच्च साबधानी अपनाउन कृषकहरुलाई अनुरोध गरिएको बताउनुभयो । जिल्लाको पूर्बी र पश्चिम दुबै क्षेत्रमा बर्डफ्लु देखिए पछि कृषकले उच्च साबधानी अपनाउन थालेका छन् ।








