चितवन । जिल्लामा नयाँ प्रजातिको चरा फेला परेको छ । चितवन राष्ट्रिय निकुञ्जको कुमरोज मध्यवर्ती क्षेत्रस्थित शिव मन्दिर नजिकै सिसौको बोटमा सल्ने बगेडी चरा फेला परेको हो । नेपाल पक्षी विद् संघ बागमतीका संयोजक वासु विडारीका अनुसार हिमाली क्षेत्रमा पाईने यो चरा चितवनमा पहिलो पटक भेटिएको हो ।
हिमाली क्षेत्रमा चिसो बढेको र खानाको अभाव भएपछि यहाँ झरेको हुन सक्ने विडारीको भनाई छ । बर्ड एजुकेशन सोसाईटी चितवनका पूर्व अध्यक्ष समेत रहनु भएका विडारीका अनुसार पोटोग्राफर चुडामणि चौधरी र प्रेम बम्जनले तस्वीर खिचेर ल्याएपछि विज्ञ टोलीले हेरेर पहिचान गरिएको हो । यो चरा समुन्द्री सतहबाट २ हजार ४ सय ४० देखी ३ हजार ५० मिटर उचाईमा पाईने गर्दछ ।
अनुगमनको क्रममा एक जोडी सल्ने बगेडी फेला परेको बर्ड एजुकेसन सोसाईटी चितवनका अध्यक्ष रमेश चौधरीले जानकारी दिनुभयो । नेपालमा १५ प्रजातीको बगेडी पाईने गरेकोमा यो समेत चितवनमा मात्र १० प्रजातीको बगेडी पुगेको छ । लजालु स्वभावको यो चरा घाँसे मैदान र खेतबारीको वरिपरि पाईने गर्दछ ।
खासगरी यो चरा युरेपेली देशमा पाईने र नेपाल लगायत एसियाको चीन, अफगानिस्तानमा पनि पाईने गरेको छ । यो नयाँ प्रजातीको बगेडी फेला परेपछी जिल्लामा ६ सय ५९ प्रजाती चरा पुगेको चौधरीले जानकारी दिनुभयो । चितवन राष्ट्रिय निकुञ्ज र आसपासको क्षेत्र चराका लागि उपयुक्त बासस्थान मानिन्छ । यहाँ वन्यजन्तुसँगै चरा अवलोकन गर्न पर्यटकहरु आउने गर्दछन् ।








