चितवन । पत्रकार दिपेन्द्र अधिकारीले विवाह भोजको रकम कटौती गरेर कोरोना राहत कोषमा सहयोग गरेका छन् । कोराना महामारीसँगै जारी गरिएको लकडाउनको समयमा विवाह बन्धनमा बाँधिएका अधिकारीले भोजका लागि छुट्टाइएको खर्च एक लाख रुपैयाँ इच्छाकामना गाउँपालिकाको कोरोना राहत कोषमा जम्मा गरेका हुन् । इच्छाकामना गाउँपालिका–३ कमेरे घर भएका अधिकारी असार १४ गते कालिका–९ की सिर्जन भण्डारीसँग वैवाहिक बन्धनमा बाँधिएका थिए । सामाजिक दूरी कायम गर्दै सिमित उपस्थितिमा विवाह गरेर विवाह भोजको खर्च कोरोना राहत कोषमा जम्मा गरिएको अधिकारीले बताए । उनीहरुले नगद एक लाख रुपैयाँ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुकदेव लम्साललाई हस्तान्तरण गरे । अधिकृत लम्सालले उक्त रकम लकडाउन प्रभावितहरुको सहयोगमा खर्च गरिने बताए ।








