गैँडाकोट। नवलपुरको गैंडाकोटस्थित जनक माध्यमिक विद्यालयकी एक छात्रालाई शिक्षकले दुर्व्यवहार गरेको भन्दै विद्यार्थीहरुले विद्यालय तोडफोड गरेका छन्। कक्षा १२ मा अध्ययन गर्ने एक छात्रालाई सोही बिद्यालयका शिक्षकले अश्लिल भिडियोहरु देखाउ, संवेदनशील अंगमा छुने गरेको भन्दै विद्यार्थीहरू प्रदर्शनमा उत्रिएका हुन। प्रदर्सन गर्दै विद्यार्थीहरुले विद्यालय नजिक रहेका दुई वटा मोटरसाइकलमा आगजनी गरेका छन् ।
पक्राउ परेका शिक्षकलाई प्रहरीले लुकाउन खोजेको भन्दै बिद्यार्थीहरुले ढुंगामुढा गर्दा ६ जना प्रहरीसमेत घाइते भएको इलाका प्रहरी कार्यालय गैंडाकोटका प्रहरी निरीक्षक प्रज्वल श्रेष्ठले जानकारी दिए । ‘हामी सिमित संख्यामा थियौं, विद्यार्थीहरु ठूलो संख्यामा आएर तोडफोड गरे, मोटरसाइकलमा आगजनी गरे, अवस्था तनावग्रस्त छ’ प्रहरी निरीक्षक श्रेष्ठले भने, ‘म सहित ६ जना प्रहरी घाइते भएका छौं ।’ विद्यार्थीहरुले शिक्षकलाई राखेकै कोठामा पुगेर आक्रमण गर्न थालेपछि प्रहरीले हवाइफायरसमेत गरेको छ ।
विद्यार्थीहरुलाई लाठिचार्ज गरेर तितरवितर बनाउने काम भैरहेको प्रहरी निरीक्षक श्रेष्ठले बताए । प्रहरीमाथि नै आक्रमण भएपछि थप सुरक्षाकर्मी मागिएको निरीक्षक श्रेष्ठले बताए ।









