नवलपुर । साउन महिनाको पहिलो सोमबार देशभर शिवको पूजाआरधाना गरि मनाईएको छ । बिश्व महामारीको रुपमा फैलिएको कोरोना भाईरसका कारण नवलपुर सहित देशका बिभिन्न शिवालय मन्दिरहरुमा बिगतमा जस्तो भिड देखिएको छैन । कोरोना संक्रमणको त्रासले महिलाहरु घरमै शिवको पुजाआरधना गरि व्रत बसेका छन । साउन महिनामा भक्तजनको निकै घुईचोँ हुने नवलपुरको कावासोती स्थित नर्मदेश्वर शिवालय मन्दिरमा यसबर्ष कोरोनाका कारण मानिसको भिडभाड,र रमझम भने देखिएको छैन । साउन महिना र सोमबार भगवान शिवको महिना एवं बार भएकाले आज बिहानै स्नान गरी शिवालयमा पूजाआजा एवं दर्शन गरेमा मनोकांक्षा पूरा हुने, अटल सौभाग्य प्राप्त हुने धार्मिक विश्वास छ । रातो एवं हरियो पहिरनमा सजिएर विवाहित महिलाले श्रीमानको दीर्घजीवनको कामना र अविवाहित महिलाले योग्य वरको कामना गर्दै साउने सोमबारको व्रत बस्ने प्रचलन छ ।








