चितवन । भरतपुरमा जारी स्वर्गीय गणेशबहादुर स्मृति जिल्ला स्तरीय खुल्ला नकआउट फुटबल प्रतियोगितामा सेन्ट्रल कलेज एभरेष्ट क्लबले कमब्याक जित हात पारेको छ ।
आज (आइतबार) को पहिलो खेलमा एभरेष्टले कैलाश युथ क्लबविरुद्ध २-१ को कमब्याक जित निकालेको हो । एभरेष्टको जितमा आशिश गजुरेल र हार्दिक भण्डारीले गोल गरे । कैलाशका एनिश तमाङले एक गोल गरे । खेलमा अग्रता भने कैलाशले लिएको थियो । पहिलो हाफको २३ औं मिनेटमा एनिश तामाङले गोल गर्दै कैलाशलाई अग्रता दिलाएका थिए ।
पहिलो हाफमा एक गोलले पछि परेको एभरेष्ट दोस्रो हाफमा भने खेलमा फर्कियो । दोस्रो हाफको १२ औं मिनेटमा आशिश गजुरेलले एभरेष्टका लागि बराबरी गोल फर्काए । लगत्तै १४ औं मिनेटमा हार्दिक भण्डारीले गोल गरेपछि एभरेष्ट २-१ ले विजयी भयो । एभरेष्टका आशिश म्यान अफ दि म्याच भए ।
आजकै दोस्रो खेलमा सौराहा युवा समाजसँग केबिए ग्लोबल भरतपुर फुटबल क्लब स्तब्ध भयो । सौराहाले बिएफसीलाई १-० ले हरायो ।
खेलको छैटौं मिनेटमा भिष्म घिमिरेले गोल गरे । उक्त गोल नै सौराहालाई जिताउन पर्याप्त भयो । सौराहाका गोलरक्षक प्रदिप भण्डारी म्यान अफ दि म्याच भए ।
यस्तै आजको तेस्रो तथा अन्तिम खेलमा पदमपोखरी फुटबल ट्रेनिङ सेन्टर हेटौंडाले रामपुर फुटबल क्लब रड्सलाई ६-२ को फराकिलो अन्तरले पराजित गर्यो ।
पदमपोखरीको जितमा प्रशान्त भोलान र अमिर श्रेष्ठले समान दुई-दुई तथा सोहन मोक्तान र रुपेश केसीले एक-एक गोल गरे । रड्सका सलिल ढकाल र आश्विन तामाङले एक-एक गोल फर्काए ।
पदमपोखरीले पहिलो हाफको २६ औं मिनेटमा अग्रता लिएको थियो । उसका लागि सोहन मोक्तानले पहिलो गोल गरेका थिए । दोस्रो हाफमा गोलको वर्षा भयो । दोस्रो हाफको चौथो मिनेटमा नै सलिल ढकालले गोल गर्दै रड्सलाई खेलमा फर्काउने संकेत गरेका थिए ।
तर दोस्रो हाफको १४ औं मिनेटमा रुपेश केसीले गोल गर्दै पदमपोखरीलाई अग्रता दिलाए । १९ औं मिनेटमा प्रशान्त तामाङले गोल गर्दै पदमपोखरीको अग्रता लम्बाए । २६ औं मिनेटमा उनले व्यक्तिगत दोस्रो गोल गरेपछि पदमपोखरीले ४-१ को अग्रता लियो ।
३३ औं मिनेटमा अमिरले पदमपोखरीलाई ५-१ को अग्रता दिलाए । अतिरिक्त समयको पहिलो मिनेटमा अमिरले व्यक्तिगत दोस्रो गोल गरेपछि पदमपोखरीले ६-१ को अग्रता लियो । अतिरिक्त समयको दोस्रो मिनेटमा रड्सका अश्विन तामाङले गोल गरे पनि हार टार्न सकेनन् । पदमपोखरीका अमिर म्यान अफ दि म्याच घोषित भए ।
प्रतियोगितामा सोमबार दुई खेल हुनेछ । सोमबार पहिलो दिउँसो २ भरतपुर १९ र देवचुली ११ नवलपुरबीच हुनेछ भने दोस्रो खेलमा दिउँसो ४ बजे नारायणी मोटर्स युनिक क्लब बसेनी ‘बी’ र नयाँ बस्ती फुटबल ट्रेनिङ सेन्टर भिड्नेछन् ।
युनिक क्लब बसेनीको आयोजनामा जारी प्रतियोगिताको विजेताले एक लाख २० हजार तथा उपविजेताले ६० हजार प्राप्त गर्नेछन् । सर्वोकृष्ट खेलाडीले पाँच हजार तथा उत्कृष्ट गोलरक्षक, डिफेन्स, स्ट्राईकर, उच्च गोलकर्ता तथा उदयमान खेलाडीले नगद तीन-तीन हजार प्राप्त गर्ने क्लबका अध्यक्ष दीपक गुरुङले जानकारी दिए । प्रतियोगिताको फाइनल २४ गते हुनेछ ।








