आज (बुधबार) भएको खेलमा जित हात पार्दै टाईगर क्लब र युनिक ‘बी’ ले सेमिफाइनलमा स्थान बनाएको हो । आजको पहिलो खेलमा टाईगर क्लबले पदमपोखरी फुटबल ट्रेनिङ सेन्टर हेटौंडालाई १-० ले पराजित गर्यो ।
टाईगर क्लबको जितमा बिक्रम चाम्लिङ राईले गोल गरे । उनले खेलको तेस्रो मिनेटमा नै गोल गरे । उक्त गोल नै टाईगरलाई सेमिफाइनलमा स्थान बनाउन पर्याप्त भयो । बिक्रम नै म्यान अफ दि म्याच घोषित भए ।
यस्तै आजको दोस्रो खेलमा आयोजक युनिक क्लब ‘बी’ ले नारायणी एफसीलाई २-१ ले पाखा लगायो । युनिक ‘बी’ को जितमा दुबै गोल लिला मगरले गरे । नारायणीका अजय गुरुङले एक गोल फर्काए ।
लिलाले खेलको आठौं मिनेटमा गोल गर्दै युनिक ‘बी’ लाई अग्रता दिलाएका थिए । २४ औं मिनेटमा उनले नै युनिक ‘बी’ को अग्रता दोब्बर बनाए । दोस्रो हाफको ३५ औं मिनेटमा नारायणीका अजयले गोल गरे पनि हार टार्न सकेनन् । युनिकका लिला म्यान अफ दि म्याच चुनिए ।
प्रतियोगितामा बिहीबार क्वाटरफाइनल चरणका थप खेलहरु हुनेछ । बिहीबार पहिलो खेल दिउँसो २ बजे सेन्ट्रल कलेज एभरेष्ट क्लब बसेनी र भरतपुर २९ जुगेडीबीच हुनेछ । यस्तै दोस्रो खेलमा दिउँसो ४ बजे सौराहा युवा समाज र एफसी नौरङ्गे भिड्नेछ ।
युनिक क्लबको आयोजनामा जारी प्रतियोगिताको विजेताले एक लाख २० हजार तथा उपविजेताले ६० हजार प्राप्त गर्नेछन् । सर्वोकृष्ट खेलाडीले पाँच हजार तथा उत्कृष्ट गोलरक्षक, डिफेन्स, स्ट्राईकर, उच्च गोलकर्ता तथा उदयमान खेलाडीले नगद तीन-तीन हजार प्राप्त गर्नेछन् । प्रतियोगिताको फाइनल २४ गते हुनेछ ।








