चितवन । जु एफसी भरतपुर २९ जुगेडी र सौराहा युवा समाज भरतपुरमा जारी पाचौं स्वर्गीय गणेशबहादुर स्मृति जिल्ला स्तरीय खुल्ला नकआउट फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । आज (बिहीबार) भएको खेलमा जित हात पार्दै जुगेडी र सौराहाले सेमिफाइनलमा स्थान बनाएको हो । प्रतियोगिताको तेस्रो क्वाटरफाइनल खेलमा जुगेडीले सेन्ट्रल कलेज एभरेष्ट क्लबविरुद्ध ३-० को सहज जित निकाल्यो । जुगेडीको जितमा रन्जन पुनले २ तथा शंकर राईले एक गोल गरे । खेलको २१ औं मिनेटमा रन्जनको गोलबाट जुगेडीले अग्रता लियो ।
३४ औं मिनेटमा रन्जनले जुगेडीको अग्रता दोब्बर बनाए । दोस्रो हाफको दोस्रो मिनेटमा नै शंकरले गोल गरेपछि जुगेडी ३-० को सहज जित हात पार्दै सेमिफाइनल प्रवेश गर्यो । जुगेडीका रन्जन म्यान अफ दि म्याच घोषित भए । प्रतियोगिताको अन्तिम क्वाटरफाइनलमा सौराहाले एफसी नौरङ्गेलाई ४-२ ले हरायो । पहिलो हाफको २० औं मिनेटमा रुमेश बर्तौलाको गोलबाट सौराहाले अग्रता लियो । ३१ औं मिनेटमा भिष्म घिमिरेले सौराहाको अग्रता दोब्बर बनाए ।
दोस्रो हाफको आठौं मिनेटमा सबिन बिडारीले गोल गरेपछि सौराहाले ३-० को अग्रता लियो । दोस्रो हाफको नवौं मिनेटमा नौरङ्गेका वसन्त कुमालले गोल फर्काए । ११ औं मिनेटमा दिपेश राईले गोल गरेपछि नौरङ्गेले पुनरागमनको संकेत गरेको थियो । खेलको अतिरिक्त समयमा कृपा चौधरीले गोल गरेपछि सौराहा ४-२ को जित निकाल्दै सेमिफाइनलमा प्रवेश गर्यो। फाइनल प्रवेशका लागि सौराहाले शुक्रबार दिउँसो २ बजे टाईगर युवा क्लबको सामना गर्नेछ ।
यस्तै दोस्रो सेमिफाइनल खेलमा दिउँसो ४ बजे आयोजक नारायणी मोटर्स युनिक क्लब ‘बी’ र जुगेडी भिड्नेछ । फाइनल खेल २४ गते शनिबार हुनेछ । भरतपुर ११ कैलाश टोलमा जारी प्रतियोगिताको विजेताले एक लाख २० हजार तथा उपविजेताले ६० हजार प्राप्त गर्नेछन् । सर्वोकृष्ट खेलाडीले पाँच हजार तथा उत्कृष्ट गोलरक्षक, डिफेन्स, स्ट्राईकर, उच्च गोलकर्ता तथा उदयमान खेलाडीले नगद तीन-तीन हजार प्राप्त गर्नेछन् ।








