काठमाडौँ । आजदेखि १६ गतेसम्म देशभर ठूलो पानी पर्न सक्ने भन्दै सरकारले सबै नागरिकलाई सुरक्षित रहन आग्रह गरेको छ । यसअघिको वर्षाले ठूलो जनधनको क्षति भएकाले थप क्षति रोक्न सरकारले सुरक्षित हुन आह्वान गरेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । केही दिनदेखि कमजोर भएको मनसुन आजदेखि शुक्रबारसम्म सक्रिया हुने भएकाले देशको धेरै स्थानमा हल्कादेखि भारी वर्षा हुने प्राधिकरणले उल्लेख गरेको छ । प्राधिकरणले वर्षासँगै हिमाली तथा पहाडी भेगमा बाढी पहिरो र तराई भागमा डुबानको जोखिम हुने भएकाले सबै नागरिक सचेत हुनु पर्ने जनाएको हो । गृह मन्त्रालयको तथ्यांकअनुसार गत जेठ ३० गतेदेखि सुरु भएको मनसुन वर्षाका कारण हालसम्म बाढी पहिरोमा परी एक सय ३० जनाले ज्यान गुमाइसकेका छन् । यस्तै, ५१ जना बेपत्ता भएका छन् भने एक सय १५ जना घाइते भएका छन् ।








