चितवन । तीन दशक भन्दा बढि समय सौराहाका होटल व्यवस्थापनमा बिताउनु भएका रामहरी देबकोटा कोभिड संगै बिस्थापित हुनु भएको छ । सौराहामा ३२ बर्ष सम्म बिभिन्न होटलको व्यवस्थापन हेर्नुभएका देवकोटा कोभिडले होटल वन्द भए पछि पेशा नै छाडेर उहाँ गाउँ फर्कनुभएको हो । बि.सं. २०४७ सालमा बाघमारा वाइल्डलाइफ रिसोर्टबाट व्यवस्थापनको काम थाल्नु भएका उहाँले सोही होटलमा २० वर्ष, रोयल टाइगर र होटल जंगल क्राउनमा ५÷५ वर्ष व्यवस्थापकको भूमिकामा रहनु भयो ।
कोभिड वढेसंगै युनिक वाइल्ड रिसोर्टबाट उहाँको ३२ वर्षको अनुभवको अन्त्य गर्दै आफ्नै गाउँ गोरखामा फर्किएर कृर्षी कर्म थाल्नुभएको छ । उहाँले भन्नुभयो “अहिले म गोरखाको पालुङ्टारमा भैसी, बाख्रा र खेतीपातीमा भूलिरहेको छु ।”उहाँ जस्तै धेरैको रोजगारी कोभिडले खोसेको छ । त्यसोत लामो समय अनुभव बटुलेका दक्षजनशक्ति बिस्थापित हुँदा होटल सञ्चालन कठिन भएको छ । क्षेत्रीय होटल संघ चितवनका अध्यक्ष दिपक भट्टराई ४० प्रतिशत दक्ष जनशक्ति कोभिड संगै बिस्थापित भएको बताउनुहुन्छ ।
कतिपय बिदेशिएका छन् भने कतिपय स्वरोजगारीमा लागेका छन् । उहाँले भन्नुभयो “काम गर्ने दक्ष जनशक्ति पाउनै मुस्किल भयो ।”अनुभबि कुक, वेटर, हाउस किपिङ्, म्यानेजर, मालि जस्ता महत्वपूर्ण पदका कर्मचारी मजदुर नपाउँदा होटल सञ्चालन मानै कठिन भएको उहाँको भनाई छ । बिभिन्न देशबाट आउने पर्यटकका लागि त्यसै अनुसारको खानाहरु खुवाउनु पर्ने हुन्छ । भाषा बुझ्नु पर्ने हुनाले सामान्य कर्मचारीले काम गर्न होटलमा कठिन पर्दछ । संघका निबर्तमान अध्यक्ष सुमन घिमिरे धेरैले पेसानै परिवर्तन गरेको बताउनुहुन्छ ।
उहाँले भन्नुभयो “आबश्यकता अनुसार जनशक्ति पाउनै मुस्किल छ ।” धेरैले स्वरोजगारका काम थालेका छन् । कतिपय कृषिमा लागेका छन् । गल्फ र अन्य देश जानेको संख्या पनि ठूलै रहेको घिमिरेको भनाई छ । सौराहाको स्थानीय एक बिद्यालयमा सिटिईभिटिको डिप्लोमा स्तरको होटल म्यानेजमेन्टको पढाई हुँदै आएको छ । केही होटलहरुले त्यही जनशक्तिबाट काम चलाएका छन् । संघकै पहलमा कुक, वेटर, वेट्रेस, हाउस किपिङ्को पनि तालिम दिन लागिएको छ । सबैभन्दा ठूलो समस्या कुकको भएको व्यवसायी बताउँछन् ।
पूर्ण रुपमा काम जानेका जनशक्ति पाउननै कठिन हुने गरेको सबैको गुनासो हुने गरेको छ । संघका महासचिब गुणराज थपलिया राम्रो जनशक्तिलाई जति रकम दिन्छु भन्दा पनि पाउन कठिन भएको बताउनुहुन्छ । बिचको समयमा फेरी कोभिड आउँछ की भन्ने डरमा व्यवसायी रहेका थिए । अबका दिनमा होटल चल्छ भन्नेमा सबै पुगेका छन् । थपलियाले भन्नुभयो “काम गर्ने जनशक्ति हराए । खोज्दा पनि पाउन मुस्किल भयो ।”
पहिले होटलमा काम गर्नेहरु दुईबर्ष सम्म बेरोजगार हुँदा फरक फरक पेशामा लागि सकेकाले फर्कन तयार नभएको उहाँको भनाई छ । सौराहामा १ सय २० वटा होटल संघमा दर्ता भएका छन् । ती होटलमा ६ हजार ५ सय भन्दा वढि वेड रहेका छन् । त्यहाँ ५ हजार ५ सय मजदुरले काम गर्दथे । अहिले झण्डै आधा हाराहारीले होटल धानिरहेका छन् । क्रमश पर्यटक बढ्ने अपेक्षा गरिएको छ । यतिवेला दैनिक ४ सय हाराहारी पर्यटक थपिने गरेको संघको अनुमान रहेको छ ।
कोभिड भन्दा अघि यो संख्या २ हजार हाराहारी हुने गरेको थियो । व्यवसायीहरु अब क्रमश पर्यटक वढ्नेमा बिश्वस्थ रहेका छन् । चितवन राष्ट्रिय निकुञ्ज भित्र र मध्यबर्ती सामुदायीक बनमा दुर्लभ बन्यजन्तु र समुदायमा थारु संस्कृतीमा रमाउन पर्यटक आउने गर्दछन् । सौराहाका होटलहरुमा ती पर्यटकका लागि अधिकांश स्थनीय मजदुर कर्मचारीलाई रोजगारी दिने गरिएको थियो ।
जसका कारण कम पारिश्रमीकमा काम लगाउन सकिने गरेको थियो । स्थानीयलाई घरपाएक हुँदा कम तलबमा काम गर्दा पनि समस्या हुँदैनथ्यो ।








