चितवन । नेपाल आयल निगमले इन्धनको मूल्यमा भारी वृद्धि गरेपछि वायुसेवा कम्पनीहरुले हवाई भाडा वृद्धि गरेका छन् । बुधवारबाट लागू हुने नयाँ भाडादर अनुसार अब भरतपुरबाट काठमाडौं पुग्न चार हजार ९३५ रुपैयाँ लाग्ने छ । वायुसेवा सञ्चालक संघका अनुसार भरतपुर काठमाडौंको हवाई भाडा दुई सय रुपैंया बढेको हो ।
यस्तै काठमाडौंबाट सबैभन्दा धेरै धनगढीका लागि ८४० रुपैयाँ भाडा बढी लाग्ने छ । अब काठमाडौं–धनगढी रुटको भाडा अधिकतम १६ हजार ८०५ रुपैयाँ पुगेको छ । यो सबैभन्दा उच्च दर हो । कम्पनीहरुले प्रतिस्पर्धाका आधारमा यसभन्दा कम मूल्यमा टिकट बेच्न सक्छन् ।
नेपाल आयल निगमले हवाई इन्धनमा प्रतिलिटर १९ रुपैयाँ बढाएर १८५ रुपैयाँ पुर्याएको छ । काठमाडौंबाट सबैभन्दा कम सिमराका लागि १७० रुपैयाँ भाडा बढेको छ । अब यो विमानस्थलसम्मको यात्राका लागि अधिकतम चार हजार १९५ पुगेको छ ।








