चितवन । नेपाल प्रेस युनियनका नवनिर्वाचित अध्यक्ष शिव लम्सालले श्रमजीवि र कलमजीविको पक्षमा काम गर्ने प्रतिवद्धता जनाउनु भएको छ । प्रेस युनियन चितवनले आज यहाँ आयोजना गरेको बधाई तथा स्वागत कार्यक्रममा बोल्दै उहाँले नेपालमा पत्रकारिता क्षेत्रमा देखिएको समस्या समाधान गर्दै श्रमजीवि र कलमजीविको पक्षमा लाग्ने बताउनुभयो ।
पत्रकारहरुको उन्नतीको बाटो पहिल्याउने गरी काम गर्ने बताउँदै लम्सालले पत्रकारहरुको आर्थिक, सामाजिक लगायतका पक्षमा सवलीकरण गर्न नेतृत्व गर्ने बताउनुभयो । प्रेस स्वतन्त्रत र अभिव्यक्ति स्वतन्त्रताको लडाईमा प्रेस युनियन सधै अग्रमोर्चामा रहने दाबी गर्नुभयो । उहाँले भन्नुभयो “२०४८ मा गठनहुदा लोकतन्त्र बचाउँने प्रयोजन थियो, अहिले पत्रकारहरुको उन्नती प्रगतीका बाटोहरु पहिल्याउनु पर्ने देखिएको छ ।” उहाँले थप्नुभयो “विगतका अधुरा कामहरु पुरा गर्ने चूनौती छन्, हामी देशकै बलियो र असल संगठनका रुपमा विकास गर्नेछौँ ।”
कार्यक्रममा नवनिर्वाचित उपाध्यक्ष नकुल अर्याल, महासचिब दिलिप पौडेल, युनियनका निवर्तमान बरिष्ठ उपाध्यक्ष दिपक आचार्य, नेपाली काङ्ग्रेस चितवनका निवर्तमान सभापति जीतनारायण श्रेष्ठ, नेपाल प्रेस युनियन चितवनका अध्यक्ष अनिल ढकाल लगाएतले बोल्नुभएको थियो । सो अबसरमा नवनिर्वाचित अध्यक्ष, उपाध्यक्ष, महासचिव तथा केन्द्रीय सदस्यलाई चितवन शाखाले सम्मान गरेको हो ।








