खैरहनी । चितवनको खैरहनीमा नेपाली कांग्रेस नगर सचिवसहित २३० जनाले सोमबार सामूहिक राजीनामा दिएका छन् । उनीहरुले पाटी सदस्यसमेत नरहने गरी राजीनामा दिएका हुन् ।
नेपाली कांग्रेस खैरहनी नगर सचिव तथा खैरहनी २ वडा सभापति टीकादत्त इटनीसहित वडा उपसभापति, क्षेत्रीय प्रतिनिधि, निवर्तमान सल्लाहकार, निवर्तमान सचिव, महिला संघ निवर्तमान सहसचिवलगायतले साधारण सदस्यतासमेत नरहने गरी राजीनामा दिएका हुन् । वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा टिकट बाँडफाटमा विभेद गरेको भन्दै राजीनामा दिएको बुझिएको छ । यसअघि नै कांग्रेस नगर सचिव टीकादत्त इटनीले सो पदबाट राजीनामा दिएका थिए ।
इटनी २०७४ सालमा भएको स्थानीय तह निर्वाचनमा खैरहनी २ मा वडाध्यक्षमा निर्वाचित भएका थिए । दोस्रो कार्याकालका लागि पनि इटनीले दाबी गर्दै आएका थिए । तर, उनलाई पार्टीले टिकट दिएन । टिकट नदिएपछि इटनी नगर सभापति र क्षेत्रीय सभापतिसँग चिढिएका थिए । वैशाखमा भएको स्थानीय तह निर्वाचनमा टिकट बाँडफाटको विषयलाई लिएर निवर्तमान क्षेत्रीय सभापति राजु सिलवालमाथि कुटपिटसमेत भएको थियो । टिकटकै विषयलाई लिएर अहिले सामूहिक राजीनामा आएको हुन सक्ने कांग्रेसका एक नेताले बताए ।
स्थानीय तह निर्वाचनकै विषयलाई लिएर नगरको वडाबाट पनि सामूहिक राजीनामाको तयारी भइहेको ती नेताले बताए । खैरहनीमा नगर प्रमुखको टिकटका विषयलाई लिएर पनि नगर पार्टीभित्र ठूलो द्वन्द्व भइरहेको उनको दाबी छ । प्रमुखमा दाबेदार १२ जनामध्ये अहिले निर्वाचित प्रमुख शशी खनिया एकातिर र नगर सभापतिसहित बाँकी ११ जना अर्को खेमामा उभिएका छन् । निर्वाचित भएको करिब तीन महिना भैसक्दा पनि प्रमुखले कुनै सल्लाहसमेत नलिएको उनीहरुको गुनासो छ ।



















