चितवन । चितवनको पम्फा खोलामा पुलको निर्माण कार्य अलपत्र परेको छ । खैरहनी नगरपालिका वडा नं–६, नमुना पेट्रोल पम्पनजिकको पम्फा खोला पुलको निर्माण कार्य चार वर्षदेखि अलपत्र परेको हो । स्थानीयवासि केशवराज बास्ताकोटिको अनुसार ४ वर्ष अघि पुलबनाउन भनेर ५० लाख भन्दा बढीको सामान झारेपनि हाल सम्म पुल निर्माण हुन सकेको छैन। जसले गर्दा स्थानीयहरुले ५ सय मिटरको दुरि पारगर्न ५ किलोमिटर हिड्न परेको उनी बताउँछन्। बारम्बार स्थानीयले सडक डिभिजन कार्यलयलाई र स्थानीय जनप्रतिनिधिलाई खबर गरे पनि बेवास्था गरेको उनको भनाइ छ। यता सडक डिभिजनका इन्जिनियर धीरज ढकालले भने पानीको सतह माथि हुँदा पुलको फाउन्डेसनको काम गर्न नसकिएको बताए। पम्फा खोला पुल बनाउन इन्जिनियरिङ समीर जेभीसँग ०७३ असार ३० गते सम्झौता भएको थियो । सम्झौताअनुसार सुरूको म्याद ०७५ असार २९ गते सकिएको हो । फाउन्डेसन नै उठाउन नसकिएपछि सडक विभागले पुलको डिजाइन परिवर्तन गर्न भनेको ढकालले बताए । पुलको नयाँ डिजाइन अझै तयार भएको छैन, तर म्याद भने ०७७ माघ ५ गतेसम्म थप भएको उनले बताए । पुलको अध्ययनका लागि विभागबाटै विशेषज्ञ टोली आउने भनिएको छ। टोलि आएपछि मात्र काम अघि बढ्ने उनको भनाइ छ। यस्तै समस्याले गर्दा चितवनमा ५ ओटा पुलको निर्माण कार्य अलपत्र परेको छ । अलपत्र परेका पुलहरुको भने सडक डिभिजन कार्यलयले म्याद थप गरिरहेको छ । समयमा पुल निर्माण हुन नसक्दा स्थानीय ज्यान जोखिममा राखेर यात्रा गर्न बाध्य छन्।








