चितवन । रत्ननगर नगरपालिका वडा नं १० बैरियामा पशु स्वास्थ्य सेवालाई प्रभाबकारी पशु सेवा केन्द्र उद्घाटन गरिएको छ । रत्ननगर नगरपालिका र बैरिया माविले सयुक्त रुपमा सञ्चालन गर्ने सो सेवा केन्द्रको रत्ननगर नगरपालिकाका मेयर नारायण वनले उद्घाटन गरेका थिए । सो अबसरमा उनले पशु स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन बैरियामा छुट्टै सेवा केन्द्र स्थापना गरी सञ्चालनमा ल्याइएको बताए । पछिल्लो समय गाई भैसीमा पनि भाइरल रोगको प्रकोप सुरु हुन थालेको भन्दै उनले पशु सेवा केन्द्रले भाइरल रोगको नियन्त्रणमा महत्वपूर्ण भूमिका खेल्ने बताए । मेयर वनले किसानले व्यवसायिक रुपमा पालेका पशुहरुको उपचार र परीक्षणका साथै बैरिया माविको प्राविधिक शिक्षा अन्तर्गत भेटेरेनरी अध्ययन गरिरहेका विद्यार्थीहरुलाई प्रयोगात्मक शिक्षाका लागि पशु सेवा केन्द्र सञ्चालनमा ल्याएको बताए । उनले पशुपालनको विकासको लागि गाउँ ठाउँमै सेवा दिने गरी केन्द्रहरु सञ्चालनमा ल्याइने बताए । सो सेवा केन्द्रबाट वडा नं १०,१२ र १३ का पशुपालक किसानहरुले सेवा दिन सक्ने वडाध्यक्ष केशब आचार्यले जानकारी दिए । पशुपंछीको उपचार,प्राविधिक सेवा र विभिन्न रोगको परीक्षण गरिने सो सेवा केन्द्रमा प्राविधिक सहायक स्तरको कर्मचारीको नेतृत्वमा विशेषज्ञ प्राविधिकहरु रहने वडाध्यक्ष आचार्यले बताए । कार्यक्रममा पशुपंछी विकास शाखाका प्रमुख शालिकराम पौडेलले किसानले व्यवसायिक रुपमा पालेका पशुहरुमा भाइरल रोगको प्रकोप देखिन थालेकाले सेवा केन्द्र स्थापना पछि किसानलाई राहत हुने बताए । उनले पशु स्वास्थ्य सेवालाई समुदाय स्तरमा पु¥याएर प्रभावकारी बनाउने बताए । वडाध्यक्ष केशव आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा वडा सदस्यहरु कमलबहादुर घिरिमे,सीता भेटवाल,बैरिया माविका प्रधानाध्यापक युवराज शर्मा पौडेल,नगर स्तरीय दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष शिवकान्त पौडेल लगायत टोल विकास संस्थाका पदाधिकारी लगायतको सहभागिता रहेको थियो । कार्यक्रम विद्यालयमा सहायक प्रधानाध्यापक युवराज पाण्डेले सञ्चालन गरेका थिए ।








