चितवन। डिभिजन वन कार्यालय चितवनले ५९ क्यूफिट काठसहित फर्निचर उद्योग सञ्चालकलाई नियन्त्रणमा लिएको छ ।
गोप्य सूचनाको आधारमा कार्यालयबाट खटिएको टोलीले भरतपुर १६ ढड्डाघारीबाट सिद्धार्थ फर्निचर उद्योगका सञ्चालकलाई ५९ क्यूफिट अबैध काठसहित पक्राउ गरिएको कार्यालयका सूचना अधिकारी सहायक वन अधिकृत बालकृष्ण रेग्मीले जानकारी दिए । फर्निचरका सञ्चालक राम नेपालीको फर्निचर उद्योगबाट साल, सिसौँ र सल्लाको गरी ५९ क्यूफिट काठ बरामद गरिउको रेग्मीले बताए । ती काठ कहाँबाट कसरी ल्याइयो भन्नेबारे थप अनुसन्धान भइरहेको भन्दै रेग्मीले काठ र फर्निचर उद्योगका सञ्चालक नेपालीलाई अनुसन्धानको दायरामा राखिएको बताए ।
फर्निचर सञ्चालक नेपाली र काठलाई डिभिजन वन कार्यालयमा राखिएको छ । सो काठको अनुसन्धान भइरहेको र काठको स्रोत नखुलेको अवस्थामा नेपालीलाई वन ऐन २०७६ वमोजिम कारबाही गरिने रेग्मीले जानकारी दिए । सिद्धार्थ फर्निचर उद्योगका सञ्चालक नेपाली यसअघि समेत काठ तस्करीमा रहेको भन्दै वन कार्यालयले कारबाही गरेको थियो । भरतपुर १६ को सेती देवी सामुदायिक वनका उपाध्यक्ष समेत रहेका नेपालीलाई सामुदायिक वनले समेत कारबाही गरेर निकालेको थियो ।
वन पैदावार चोरी गरेर फर्निचर सञ्चालन गरेको जानकारीमा आएपछि उनलाई सामुदायिक वनले कारबाही गरेको स्रोतको भनाइ छ । नेपालीलाई वन पैदावार चोरी पैठारी नगर्नका लागि पटक पटक आग्रह गर्दा समेत उनको आचरणमा सुधार नआएको स्थानीय बताउँछन् ।








