काठमाडौं । प्रहरीमाथि दुर्व्यवहार गरेको आरोपमा काठमाडौंबाट ४ र सोलुखुम्बुका ६ गरी १० जना पक्राउ परेका छन् ।
काठमाडौंमा प्रहरीलाई दुर्व्यवहार गरेको अभियोगमा अर्घाखाँची भूमिकास्थान गाउँपालिका ८ घर भई हाल नयाँबानेश्वर बस्ने १९ वर्षीय रमेशकुमार विकलगायत चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।
गोकर्णेश्वर नगरपालिका ८, नारायणटार पुलमा महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीलाई जाँच गर्ने क्रममा मादक पदार्थ सेवन गरी बा.४८प ५६५४ र प्रदेश नम्बर-३-०२-०१५ प ६२२९ नम्बरको मोटरसाइकलमा सवार उनीहरूले प्रहरीमाथि नै हातपात र ढुङ्गा प्रहार गरी लखेटेका थिए । महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो । पक्राउ परेका चार जनालाई महानगरीय प्रहरी वृत्त बौद्धमा राखेर आवश्यक अनुसन्धान भइरहेको छ ।
यस्तै सोलुखुम्बुमा प्रहरीलाई दुर्व्यवहार गरेको अभियोगमा ओखलढुंगा सिद्धिचरण नगरपालिका ६ बस्ने २५ वर्षीय विजय मगरलगायत ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
दुधकुण्ड नगरपालिका ११, रमिते बजारस्थित अस्थायी प्रहरी पोस्ट रमितेबाट खटिएको प्रहरीलाई रमिते बजारको होटेलमा मादक पदार्थ सेवन गरी हो हल्ला गर्दा प्रहरीले सम्झाउन खोज्दा युनिर्फम तानी सिठी, कार्डसमेत चुडाएर लगेका थिए । उनीहरुले प्रहरीलाई लडाएर लात्ती, रक्सीको बोतल र क्यान बियरले प्रहार गरेका थिए । जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।








