चितवन । चितवन प्रहरीले बिहीबार लागुऔषधसहित पक्राउ परेका दुई जना युवालाई शनिबार सार्वजनिक गरेको छ ।
इलाका प्रहरी कार्यालय चनौलीबाट खटिएको गस्ती टोलीले भरतपुर महानगरपालिका वडा नं. १८ राईगञ्जको सडक किनारमा अनपेक्षित हाउभाउ देखाएका भरतपुर–१८ का ३५ वर्षीय मनोज तामाङ र सोही स्थानका ३७ वर्षीय सुदर्शन तामाङको शरीर खानतलासी गर्दा उनिहरुबाट उक्त लागुऔषध फेला परेको थियो ।
चितवन प्रहरी प्रवक्ता डिएसपी विजयराज पण्डितले दिएको जानकारी अनुसार निजहरुको साथबाट शरीरमा लुकाइछिपाई राखेको अवस्थामा २३ वटा पोका बरामद भएको थियो ।
लागुपदार्थ खैरो हेरोइनजस्तो देखिने १ ग्राम २ सय मिलिग्राम लागुऔषध निजहरुको साथबाट बरामद भएको र घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रवक्ता पण्डितले जानकारी दिए ।








