चितवन । भरतपुर अस्पतालमा आजदेखि निःशुल्क पार्किङको व्यवस्था लागु भएको छ । अस्पतालले साउन ८ गते सूचना जारी गरी भदौदेखि निःशुल्क पार्किङको व्यवस्था लागु हुने बताएको थियो ।
भदौ १ गतेदेखि नै पार्किङलाई निःशुल्क गर्ने भनिएकामा ठेक्कातिरका पाटा मिलाउँदा केहि दिन ढिला भएको भरतपुर अस्पतालका सूचना अधिकारी गोपाल पौडेलले बताए ।
अस्पतालले पार्किङ शुल्क उठाउन निजी क्षेत्रलाई ठेक्का दिएको थियो । यसअघि साइकलको पाँच, मोटरसाइकलको १० र कार/जीपको २० रुपैयाँ पार्किङ शुल्क लिने गरिएको थियो ।
गरिब एवम् विपन्न वर्गले उपचार गराउने अस्पतालमा पार्किङ शुल्क लिने गरिएकामा आलोचना हुँदै आएको थियो । यस अस्पतालमा चितवन लगायत १२ जिल्लाका विरामी उपचार गराउन आउने गर्छन् ।








