चितवन । नारायणगढ–मुग्लिन सडक खण्डमा निर्माणाधीन दुई नयाँ पुल दशैं अघि सञ्चालन गरिने तयारी गरिएको छ । सो सडक खण्डका १९ वटा पुलमध्ये १५ वटा पुल निर्माणका क्रममा छन् । ती मध्ये एउटा पुल सञ्चालनमा आईसकेको छ भने थप दुई वटा पुल दशैं अघि सञ्चालन गर्ने गरी काम अघि बढेको छ ।
नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिम खण्ड (नारायणगढ–मुग्लिन)का आयोजना प्रमुख किरण कार्कीका अनुसार लामो बालुवा र डुम्रे पुल दशैं अघि सञ्चालनमा आउने गरी काम अघि बढाईएको छ । पछिल्लो समय निर्माणाधिन १५ पुल मध्ये सेतीदोभान असार महिनाबाट सञ्चालनमा आएको छ । उहाँका अनुसार सञ्चालनमा आउने तयारीमा रहेका दुवै पुलको माथिल्लो तहको कालोपत्रे गर्न बाँकी छ । उहाँले भन्नुभयो “वर्षातका कारण केही ढिलो भयो, दशैं अघि काम सम्पन्न हुन्छ ।”
आयोजनाले असार मसान्तमै ती पुल सञ्चालनमा ल्याउने तयारी गरेको थियो । वर्षात्सँगै कालोपत्रे र बाँकी काम गर्न नभ्याईएकाले केही ढिलो भएको हो । कार्कीले बाँकी १२ मध्ये १० वटा पुल पुस महिनासम्म सम्पन्न हुने अनुमान गरिएको बताउनुभयो । उहाँका अनुसार पुल निर्माणका लागि भित्तो बिस्फोट गर्नुपर्ने भएकाले तुइन खोलाको पुलको काम शुरु गरिएको छैन । पुलको मुखमा बसेकाहरुलाई मुआब्जा वितरणसँगै खहरे खोलाको पुलको काम थालिएको छ । जगको काम सकिएको कार्कीले जानकारी दिनुभयो । उहाँको भनाईमा यी दुई पुल चैत्र मसान्तसम्ममा सम्पन्न गर्ने लक्ष्य लिईएको छ ।
दशैंपछि बिस्फोटको काम हुने उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो “जलविद्युत कम्पनीहरुमा समेत बिस्फोटका सामग्री आउन थालेकाले दशैंपछि यो पुल निर्माणस्थलको भित्तो बिस्फोट गर्न सकिएला ।” यससँगै कामलाई तीब्रता दिएर यसै वर्षभित्र पुलको निर्माणको काम सम्पन्न योजना रहेको उहाँको भनाई छ । पुल निर्माणका क्रममा २४ घरको मुआब्जा दिनुपर्ने भएकाले काम रोकिएको थियो । ती घर हटाउन रु.९७ लाख आवश्यक पर्नेमा रु.७० लाख निकासा गरी १६ परिवारलाई मुआब्जा दिएर हटाईएको छ । बाँकी ६ परिवारलाई छिट्टै दिईदै छ ।
एक जनाले मुआब्जामा चित्त नबुझेर रकम बुझेका छैनन् भने अर्काे एकजनाले यस अघि नै मुआब्जा लिएर पुनः सोही ठाउँमा बसेको बुझिन आएकाले अध्ययन गरिंदै छ । पुलको मुखमा बसेकाहरुलाई मुआब्जा दिएर हटाउन लागिएको हो । सो सडक खण्डमा रहेका १९ पुल मध्ये चार पुल अघि नै निर्माण सम्पन्न भई सञ्चालनमा आईरहेका छन् । कार्कीका अनुसार पुल निर्माणका लागि अनक कन्स्ट्रक्सनलाई थप गरेको एक वर्षको समय यही बि.सं. २०८० सालको पुस मसान्तसम्ममा सकिँदै छ ।
विसं २०७६ को चैतमा रु एक अर्ब २७ करोडको लागतमा पुल निर्माणको ठेक्का सम्झौता भएको थियो । तीन वर्षका लागि दुई प्याकेज बनाएर ठेक्का लगाइएकामा दुवै प्याकेज अनक कन्स्ट्रक्सनले पाएको थियो । नक्सांकनसहित पुल निर्माणका लागि ठेक्का लगाइएको हो । निर्धारित समयमा काम नसकिएपछि एक वर्ष समय थप गरिएको थियो । विश्व बैंकको सहयोगमा पुल निर्माण गरिएको हो । पुलको गाडी गुड्ने ठाउँ सात दशमलव पाँच मिटर फराकिलो छ । दायाँबायाँ फुटपाथसहित गरेर नौदेखि ११ मिटर पुल फराकिलो रहेको छ ।
केही पुल भौगोलिक कारणले नौ मिटरमात्र फराकिलो बनाइएको छ भने धेरै पुल ११ मिटरका छन् । सो सडकको चौडाई समेत नौदेखि ११ मिटर फराकिलो छ । यो सडक हुँदै दैनिक १० हजार हाराहारी सवारी आवागमन हुने गर्छन् । तराईबाट राजधानी प्रवेश र बाहिरिने मुख्य सडकमा यो पर्दछ । केही वर्ष अघि सडक विस्तार गरिएपछि सडक फराकिलो बनाईएको छ । तत्कालिन समयमा काटिएको भित्तोको कारण कतिपय ठाउँमा पहिरो खसेर दुःख दिने गरेको छ ।








