चितवन । रत्ननगरका मेयर प्रल्हाद सापकोटाले आन्दोलन गर्ने शिक्षकको अधिकार भए पनि धेरै दिन विद्यालय बन्द गरेर विद्यार्थीको भविष्य अन्यौलमा पार्ने रत्ननगरका शिक्षकलाई नछाड्ने बताएका छन् । मेयर सापकोटाले भने, आन्दोलन गर्ने अधिकार छ भन्दैमा विद्यालय बन्द गर्ने छुट कसैलाई नभएको बताएका हुन् ।
मेयर सापकोटाले भने, ‘अहिलेको शिक्षकहरुको आन्दोलन केन्द्रीय सरकार र शिक्षक महासंघको विषय हो । छिटो वार्तामा बसेर समस्या टुङ्ग्याउनु पर्छ । मैले शिक्षकहरुलाई स्कुल बन्द नगर्नुहोस् भनेको छु । आन्दोलनको शैली बदलेर प्रतिनिधिमूलक बनाएर आन्दोलन गर्नुैपर्छ । स्वरुप परिवर्तन गर्नुहोस् । यदि सबै विद्यालय बन्द भएमा स्थानीय प्रशासनले कदम चाल्नेछ ।’
मेयर सापकोटाले विद्यालयमा बिना अवरोध पढ्न पाउने अधिकार बालबालिकाको रहेको भन्दै शिक्षक सधै आन्दोलनमा गएर विद्यालय निरन्तर बन्द गरे एक्सनमा उत्रने बताए ।
उनले आफूहरुले शिक्षाको गुणस्तर सुधार गर्न निकै ठूलो लगानी गरिरहेको भन्दै विद्यालय बन्द गर्नु गलत भएको बताए । उनी अहिले विद्यालय बन्द गर्ने शिक्षकलाई भविष्यमा के कारबाही गर्न सकिन्छ भनेर कानुनी परामर्शमा छन् ।








