चितवन । भरतपुरको कृष्णपुर–७ स्थित अङ्कुरम् एकेडेमीमा जारी ‘अङ्कुरम् नमुना संयुक्त राष्ट्रसंघ’ (एएमयुन) कार्यक्रमको दोस्रो दिन प्रतिनिधिहरूले सम्बन्धित विषयवस्तुमा केन्द्रित रही ‘डिवेट’ गरेका छन् । संयुक्त राष्ट्रसंघका छ वटा अङ्गहरुमध्ये पाँचवटा अङ्गहरु युएनएचआरसी, युएनइपी, युएनएससी, युनिसेफ र डब्ल्युएचओमा आबद्ध भई प्रतिनिधिले ‘डिवेट’ गरेका हुन् ।
काठमाडौँ उपत्यकाबाहिर २८१ जनाको सहभागितामा सञ्चालन भइरहेको यो नमुना अभ्यास कार्यक्रम चितवनमा पहिलोपटक आयोजना गरिएको सबैभन्दा विशाल कार्यक्रम हो । प्रत्येक अङ्गमा एकजना सभापति, एकजना उपसभापति र एकजना मध्यस्थकर्तासहित ४५ जना प्रतिनिधि रहेका छन् । उनीहरूले आफ्नो समितिमार्फत् विभिन्न विषयवस्तुमा अध्ययन, अनुसन्धान गरी समस्याको समाधानका निम्ति उपाय सुझाउने क्रम जारी छ ।
दोस्रो दिनको सत्रमा प्रतिनिधिहरूले जातिवाद उन्मूलन गर्न जात व्यवस्थाविरूद्ध लड्ने रणनीति, प्लाष्टिकको अवशेष र पानीमा यसको मिसावटले पार्ने प्रभावलाई कम गर्ने रणनीति, इजरायल–प्यालेस्टाइन द्वन्द्वमा दिगो शान्तिको प्रयाससम्बन्धी रणनीति, गुणस्तरीय शिक्षामा प्रत्येक बालबालिकाको पहुँच पुर्याउने रणनीति र विश्वव्यापी मानसिक स्वास्थ्य संकटलाई सम्बोधन गर्दै सोका लागि स्रोत र समर्थन जुटाउने रणनीतिबारे छलफल तथा प्रश्नोत्तर गरेका हुन् ।








