चितवन । पछिल्लो समय संरक्षित क्षेत्रका वयस्क बाघ घाइते अवस्थामा मानव बस्तीमा निस्कन थालेका छन् । विगतमा बुढा र अशक्त बाघ जङ्गलमा सिकार गर्न नसकेपछि मानव बस्तीमा निस्कने गर्थे तर पछिल्लो समय वयस्क बाघ नै घाइते अवस्थामा निकुञ्जबाहिर भेटिन थालेका छन् । तिनले मानव बस्तीनजिकका साना वनमा बस्ने र घरपालुवा जनावर र मानिसलाई आक्रमण गर्ने गरेको पाइएको छ ।
चितवन राष्ट्रिय निकुञ्जका पशु चिकित्सक डा विजयकुमार श्रेष्ठले जङ्गलमा बाघहरू जुधेर घाइते हुँदा मानव बस्तीतर्फ निस्किएको बताए । उनले भने, “वयस्क दुई बाघ एकआपसमा भेटिएपछि जुध्छन् । यसरी जुध्दा बलियोले कमजोरलाई मार्न सक्छ । कतिपय घाइते भएर लखेटिन्छन् । यसरी लखेटिएका बाघ निकुञ्जबाहिरका बस्तीमा आइरहेका छन् ।”
चितवन राष्ट्रिय निकुञ्जनजिकको प्रतापपुरका बलबहादुर राईको गोठमा गत बिहीबार बिहान भैँसीको आक्रमणबाट करिब छ वर्षको बाघ मर्यो । जङ्गलमा अर्को बाघसँग जुधेर शरीरभरि चोटैचोट भएको शिथिल अवस्थाको बाघले भैँसीलाई आक्रमण गर्न खोज्दा उल्टै भैँसीले आक्रमण गरेर बाघ म¥यो ।








