गण्डकी । पोखरा महानगरपालिका–२९ स्थित दीपशिखा सामुदायिक पुस्तकालयले १७औँ पुस्तकालयका दिवसका अवसरमा ‘पठन संस्कृतिको विकासमा पुस्तकालयको भूमिका’ विषयक वक्तृत्वकला प्रतियोगिता सम्पन्न गरेको छ । साविक लेखनाथ क्षेत्रका १९ संस्थागत तथा सामुदायिक विद्यालयका कक्षा ८, ९ र १० का २९ विद्यार्थी सहभागी प्रतियोगितामा डायमण्ड माविका अङ्किता आचार्य हुनुभयो ।
जनप्रकाश माविका अनुसा काफ्ले द्वितीय र डायमण्ड माविकै स्वस्तिका देवकोटाले तृतीय स्थान हासिल गर्नुुभयो । प्रतियोगिताको चौथो र पाँचौँ स्थानमा क्रमशः गोगन माविका सुजाता पौडेल र रिलायन्स पब्लिकका दीपशिका क्षेत्री विजयी बन्नुभयो । विजयी विद्यार्थीलाई क्रमशः रु पाँच हजार, रु तीन हजार, रु दुुई हजार र रु एक/एक हजार नगदसहित प्रमाणपत्र प्रदान गरिएको थियो ।
प्रतियोगिताको निर्णायकमा दीपशिखा सामुदायिक पुस्तकालयका कोषाध्यक्ष माधव भण्डारी र त्रिवेणी इन्टरनेशनल कलेजका सहायक क्याम्पस प्रमुख डिल्लीराम पौडेल रहनुभएको थियो । पोखरा महानगरपालिका शिक्षा महाशाखाका वरिष्ठ शिक्षा अधिकृत बद्रिनाथ सुवेदीले पठन संस्कृतिको विकासका लागि पुस्तकालय दिवसले प्रोत्साहित गरिरहेको बताउनुुभयो ।
पुस्तकालयका अध्यक्ष कृष्णहरि भण्डारी, सदस्य एवं कार्यक्रम संयोजक विष्णुहरि पौडेललगायतले पठन संस्कृति हराइरहेको अवस्थामा पुस्तकालयका माध्यमबाट यसको जगेर्ना गर्न सकिनेमा जोड दिनुभएको थियो ।








