चितवन । चितवनको भरतपुर महानगरपालिका–२९ किपट भन्ने ठाउँमा भरुवा बन्दुक पड्किएर एक जना घाइते भएका छन् । बुधवार बेलुका ५ बजेको समयमा खेतमा लगाएको मास खान आएको बाँदर धपाउन भनि भरुवा बन्दुक बोकी गएका स्थानीय २३ वर्षीय पासाङ भुजेल चिप्लिएर लड्दा बन्दुक पड्किएर घाइते भएका हुन् ।
बन्दुकको छर्रा शरिरको विभिन्न भागमा लागेर मध्यम घाइते भएका उनलाई उपचारका लागि सुरुमा पुरानो मेडिकल कलेज लगिएको थियो । थप उपचारको लागि उनलाई बुधवार राति ११ः१५ बजेको समयमा चितवन मेडिकल कलेज रिफर गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।
पड्किएको भरुवा बन्दुक खोजतलास गर्ने क्रममा आज (बिहीवार) दिउँसो ३ बजेको समयमा भरतपुर–२९ बिनीडाँडामा सोहि बन्दुक बोकेर हिँडिरहेको अवस्थामा स्थानीय ४४ वर्षीय कुमार गुरुङलाई पक्राउ गरीएको प्रहरी निरीक्षक लक्ष्मण केसीले जानकारी दिए । साथै, भरतपुर–२९ कै सिरुबारीस्थित झाडीबाट अर्काे एउटा भरुवा बन्दुक फेला पारी बरामद गरिएको उनले बताए ।








