चितवन । ४५ औं विश्व पर्यटन दिवस २०२४ को अवसरमा भरतपुर भ्रमण वर्ष २०२४ लाई सफल पार्ने उद्देश्यले चितवन जिल्लाको प्रमुख पर्यटकीय स्थल गणेशधाम, भरतपुर–११ मा बृहत् सरसफाई कार्यक्रम सम्पन्न गरिएको छ । होटल व्यवसायी महासंघ नेपाल, होटल व्यवसायी संघ चितवन, र हंस बहुउद्देश्यीय सहकारी संस्था लि. चितवनद्वारा संयुक्त रूपमा आयोजित यस कार्यक्रममा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रमको अध्यक्षता होटल व्यवसायी महासंघ नेपालका अध्यक्ष दिनेश कुमार चुकेले गरे। उनले पर्यटन क्षेत्रलाई दिगो बनाउन सरसफाई र स्थानीय सहभागिताको महत्त्वबारे प्रकाश पार्दै, पर्यटनको सफलताका लागि व्यवसायिक निकाय र स्थानीय समुदायको सामूहिक प्रयास आवश्यक रहेको बताए। कार्यक्रममा प्रमुख अतिथि गणेशधाम संरक्षण संवर्द्धन समितिका संरक्षक तथा पूर्वमन्त्री विजय सुबेदीले गणेशधामको धार्मिक, सांस्कृतिक, र पर्यटकीय महत्त्वबारे चर्चा गर्दै यसलाई अझ व्यवस्थित र हराभरा बनाउनु सबैको कर्तव्य रहेको बताए।
उनले धार्मिक र पर्यटकीय स्थलहरूको संरक्षणले चितवनको पर्यटन प्रवर्द्धनमा ठुलो योगदान गर्ने बताए। गैरआवासीय नेपाली संघका उपमहासचिव तथा नेपाल सरकारका पर्यटन प्रवर्द्धक सोम सापकोटाले नेपाललाई अन्तर्राष्ट्रिय पर्यटनको प्रमुख गन्तव्य बनाउन हरित पर्यटनलाई प्रवर्द्धन गर्नु महत्त्वपूर्ण रहेको औंल्याए। उनले हरित लगानी र दिगो पर्यटनले मात्र नेपालको पर्यटन क्षेत्रलाई दीर्घकालीन बनाउने बताए। त्यसैगरी उद्योग व्यापार महासंघका अध्यक्ष खेम भण्डारीले पर्यटनले स्थानीय व्यापारमा सकारात्मक प्रभाव पार्ने भन्दै, व्यवसायिक क्षेत्रले पर्यटन प्रवर्द्धनमा सहकार्य गर्नुपर्ने धारणा राखे। उनले स्थानीयस्तरका व्यवसायहरूले पर्यटन क्षेत्रलाई थप सशक्त बनाउनुपर्ने बताए।
उद्योग संघ चितवनका उपाध्यक्ष दिनुप बरालले चितवनमा नयाँ पर्यटकीय गतिविधिहरूको थालनी गर्नुपर्नेमा जोड दिँदै, पर्यटन विकासका लागि व्यवसायिक क्षेत्रको लगानी र सहभागिता अत्यावश्यक रहेको बताए। रोटरी क्लब चितवनका अध्यक्ष भानु शर्माले व्यवसायिक र पर्यटन क्षेत्र एकअर्काका परिपूरक भएको भन्दै, पर्यटन विकासले स्थानीय अर्थतन्त्रलाई मजबुत बनाउन सहयोग पुर्याउने धारणा राखे। होटल व्यवसायी संघ चितवनका अध्यक्ष लोकनाथ भट्टले सरसफाई अभियानको महत्त्वलाई जोड दिँदै, स्वच्छ र हराभरा वातावरणले मात्रै पर्यटकलाई आकर्षित गर्न सकिने बताए।
सो अवसरमा सरसफाई अभियानहरूलाई थप प्रभावकारी बनाउन सहयोग पुर्याउने उद्देश्यले हंस बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले गणेशधाम संरक्षण संवर्द्धन समितिलाई सरसफाईका सामग्री र औजारहरू हस्तान्तरण गरेको थियो। कार्यक्रममा हंस बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका उपाध्यक्ष बाबुराम अधिकारीले स्वागत मन्तव्य राखेका थिए भने कार्यक्रमको सञ्चालन सोही संस्थाका प्रबन्धक नारायण प्रसाद सापकोटाले गरेका थिए । निरन्तर वर्षाका कारण सरसफाई कार्य केही अवरुद्ध भए पनि कार्यक्रमलाई निकट भविष्यमा निरन्तरता दिने जानकारी अध्यक्ष चुकेले दिए।








