चितवन । मानिसहरु प्राय जन्मदिन भन्नेवित्तिकै केक काट्ने , पार्टी गर्ने, उपहार दिने लिने साथै परिवार आफन्त र साथीभाईसंग रमाइलो गर्ने गरेको पाइन्छ । तर पछिल्लो समय सामाजिक कार्यमा संलग्न भएर जन्मदिनलाई उत्सवको रुपमा मनाउनेहरु बढ्दै गएका छन् । ्
यसरी गरिने कर्मले मनमा छुट्टै खुसी र शान्तीको अनुभुति हुने गरेको उनीहरुको भनाई छ । यस्तै व्यक्तिमध्येको एक हुनुहुन्छ ,कालिका नगरपालिका वडा नम्बर ५ का इश्वरी प्रसाद दाहाल । दाहालले कात्तिक २४ गते परेको आफ्नो जन्मदिन आदर्श गृहमा आश्रित महिला तथा बालबालिकालाई बनभोज आयोजना गरेर मनाउनुभयो । उहाँले आफ्नो जन्मदिनलाई सामाजिक सेवा र दान गर्ने अवसरमा रुपमा प्रयोग गर्नु पाउँदा धार्मिक विधीअनुसार सप्ताहा लाएभन्दा बढी पुन्य मिलेको महसुस गरेको बताउनुभयो ।
गतबर्षहरुमा मैले साथीभाईसंग फजुल खर्च गरेर जन्मदिन मनाउंथे तर यसपटक केही फरक गर्न मन लाग्यो र संस्थासंग अनुरोध गरि बनभोज आयोजना गरिएको हो उहाँले भन्नुभयो । उहाँको जन्मदिनलाई उत्सव बनाउन चाजोपाँजो को समन्वय आदर्श नारी विकास केन्द्र कालिका शाखाले गरेको हो । संस्थाका सल्लाहकार समेत रहनुभएको दाहालले हिंसाप्रभावित महिला तथा बालबालिकाको सेवाका लागि केही फरक गर्ने सोच भएको बताएपछि संस्थाका संस्थापक मीना खरेल र अध्यक्ष उषा खरेल सुवेदीसंग समन्वय गरेर बनभोज कार्यक्रम गरिएको शाखा अध्यक्ष मेनुका थापा अधिकारीले जानकारी दिनुभयो ।
संस्थाका संस्थापक मीना खरेलले जन्मदिनलाई सेवामा समर्पित गर्नुहुने दाहाल र उहाँको परिवारको कार्यको खुलेर प्रंससा गर्नुभयो । असल संस्कार र शिक्षा दिने बुवाआमाकै कारण दाहाले आफ्नो जन्मदिन अभिभावकविहिन र हिंसाप्रभावितको खुसीका लागि समर्पण गर्न सकेको बताउनुभयो । मैले आफैले गृहमा अक्षयकोष स्थापना जन्मदिन मनाउन शुरु गरेकी हुँ उहाँले भन्नुभयो , विगत १७ बर्षदेखि निरन्तर प्रत्येक बर्ष संस्थाको मासिक भाडा र भोजन सेवा समर्पण गरेर जन्मदिन मनाउदै आएकी छु ।
हाल गृहमा ९६ जना व्यक्ति र १३ वटा संस्थाले नियमित जन्मदिन मनाउने गरेको उहाँको भनाई थियो । संस्थामा बार्षिक ४२ लाख खर्च हुने गरेको र यो सबै व्यक्तिगत र संस्थागत सहयोगबाट नै संचालन हुने गरेको उहाँले बताउनुभयो । संस्थाका केन्द्रिय अध्यक्ष उषा खरेल सुवेदीले दाहालले गर्नुभएको उदाहरणीय कार्यको प्रसंसा गर्दै मानवताको सेवा नै जीवनको महत्वपुर्ण सेवा भएको उल्लेख गर्नुभयो।
यस्तै शाखाका सल्लाहकार रमेश जंग थापाले इश्वरी दाहालको रचनात्मक कार्यबाट आफु प्रभावित बनेको भन्दै आगामी बर्षदेखि आफु र आफ्नो परिवारको जन्मदिन संस्थामा नै मनाउने घोषणा गर्नुभयो । यसअघि मैले रंग रमाइलोमा जन्मदिनको निहँुमा लाखौ खर्च गर्ने थिए तर आगामी बर्षदेखि संस्थामै नै गएर मनाउछु उहाँले भन्नुभयो ।
कार्यक्रममा बोल्दै दाहालका बुवा निलकण्ठ दाहालले सानैदेखि सेवाको भावना भएको इश्वरीले आजसम्म जन्मदिन मध्ये यस बर्षको जन्मदिन उत्कृष्ठ भएको बताउनुभयो । यस्तै आमा टेककुमारी दाहाल, श्रीमती सरस्वती दाहाल, बुहारी शुस्मा दाहाल, दिदी सरिता दाहाल , छोरीहरु सम्पदा, सम्बद्धि, संस्कृति र सभ्यताले इश्वरी प्रसाद दाहाललाई शुभकामना व्यक्त गर्नुभएको थियो ।
आदर्श नारी विकास केन्द्रले विशेषगरि शोषण दमन उत्पीडनमा परेकाहरुलाई पीडामा परेको बेलामा साथ दिदै सामाजिक रुपमा सम्मानित र आर्थिक रुपमा आत्मनिर्भर बनाउने काम गर्छ ।
काम गर्ने सिलसिलामा असहाय अनाथ तथा विभिन्न प्रकारका हिंसामा परेकाहरुको आश्रयस्थलको आवश्यकता महसुस गरि २०६६ सालदेखि आदर्श गृह स्थापना गरि संचालनमा छ । संस्थामा हालसम्म ११९२ जनालाई पुर्नस्थापना पश्चात सीप शिक्षा र आत्मनिर्भर बनाई पारिवारिक र सामाजिक पुर्नमिलन गराईएको छ भने हाल ३१ जना संस्थामा आश्रित छन् ।








