मकवानपुर । हेटौंडामा रोकिराखेको गाडी दबिएको ठाउँमा भूगर्भविद्को टोलीले अध्ययन थालेको छ। हेटौंडा उपमहानगरपालिका-१७ गैरीगाउँमा सडक भासिएर गाडी जमिनमुनि पसेको ठाउँमा मंगलबार बिहानदेखि चार जना विज्ञको टोलीले अध्ययन थालेको मेयर मीनाकुमारी लामाले जानकारी दिइन्।
खानी तथा भूगर्भ विभाग काठमाडौंबाट भूगर्भविद् नारायण अधिकारीको नेतृत्वमा चार जनाको टोली सोमबार राति हेटौंडा पुगेका थिए। उपमहानगरले नै भूगर्भविदलाई बोलाउने निर्णय गरेको थियो। अहिले उक्त ठाउँमा भूगर्भविदहरू अधिकारीसँगै कृष्ण पाण्डे, मणि खनाल र अमरबहादुर थापाले अध्ययन गरिरहेका छन्।
‘उहाँहरूले अहिले त्यस ठाउँमा घेरा हालेर काम गरिरहनुभएको छ। उहाँहरूले माग्नुभएको स्रोत साधन हामीले उपलब्ध गराएका छौं,’ मेयर लामाले भनिन्। विज्ञको टोलीले विभिन्न उपकरण लगाएर परीक्षण गर्ने काम गरिरहेको पनि उनले जानकारी दिइन्। गत शुक्रबार दिउँसो १ बजेतिर गैरीगाउँमा ना ४ ख ४८३३ को गाडी जमिनमुनि पसेको थियो।








